काठमाडौं, साउन १३ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेको अवधि सकिनै लाग्दा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नयाँ प्रमुखको विषय टुंगो लगाएको छ।
उच्च श्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पुर्व सचिव प्रेम राई नियुक्त हुने भएका छन्। राईले गत माघमा गृह मन्त्रालयबाट अवकाश पाएका हुन्।
मंगलवार प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा बीच भएको छलफलबाट आयोगमा रिक्त रहेका दुई आयुक्त सहित भावी प्रमुख आयुक्तको विषयमा टुंगो लागेको हो।
प्रधानमन्त्री केपी ओलीको विश्वास पात्र मानिएका राईले अवकाश लगत्तै दिनेश थपलियाले जस्तै कुनै संवैधानिक नियुक्ति पाउने अनुमान गरिंदै आएको थियो।
त्यसैगरी, रिक्त रहेका आयुक्तहरुमा दिलिप रेग्मी र गजेन्द्र ठाकुरको नाममा सहमति बनेको उच्च श्रोतले जानकारी दिएकाे छ ।
आयुक्तको लागि छनौट भएका नेपाल ट्रस्टका पुर्व प्रमुख ठाकुरको नाम नेकपाका तर्फबाट प्रस्ताव भएको बताईएको छ ।राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलिप रेग्मीको नाम काँग्रेस सभापति शेर बहादुर देउवाले प्रस्ताव गरेकाे बुझिएकाे छ ।