अख्तियारले थाल्‍यो पाठकमाथि विस्तृत अनुसन्धान

| 2019 Feb 20 | 07:18 am 1695

काठमाडौं, फागुन ८: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख घुस काण्डमा मुछिएपछि राजीनामा दिएका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि विस्तृत अनुसन्धान थालेको छ । आयोगले सहसचिव नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरी अनुसन्धान सुरु गरेको हो । ‘पाठकमाथि छनबिनका लागि गठित टोलीले उनको सबै पृष्ठभूमि खोजी छानबिन गर्नेछ’, अख्तियारका प्रवक्ता रामेश्वर दंगालले भने ।

पाठकका विषयमा छानबिन गर्न संविधान र कानुनी बाधा नरहेको भन्दै सोमबार महान्यायाधिवक्ता कार्यालयले राय दिएपछि अख्तियार छानबिनतर्फ अघि बढेको हो । पाठकले गत शुक्रबार राजीनामा दिएका थिए । पाठकलाई बयानका लागि आयोगमा डाक्ने तयारी भइरहेको छ । बयानलगत्तै उनलाई पक्राउ गरिने स्रोतले दाबी गरेको छ ।

भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने भन्दै कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो कुराकानीसहितको विवरण सार्वजनिक भएको थियो ।

घुस लिए पनि काम नगरिदिएको भन्दै घुस दिने पक्षले भिडियो सार्वजनिक गरेपछि पाठक अप्ठ्यारोमा परेका थिए । घुस लिएको पुष्टि भए पाठकलाई ६ देखि आठ वर्षसम्म कैद हुनेछ । राष्ट्रसेवकले एक करोड रुपैयाँसम्म घुस लिएको अवस्थामा त्यस्तो सजाय हुन्छ । जेल सजायसहित घुस रकम बराबर नै जरिवाना हुने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.