काठमाडौं, साउन ३१ः काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) महाँकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर पाँच हजार घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिनियर प्लम्बर गणेशबहादुर खुलाल रहेका छन् ।
खुलाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग लिएको पाँच हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले काठमाडौं महानगरपालिका–६ महाँकाल चौरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयको कार्यकक्षबाटै खुलाललाई पक्राउ गरिएको जानकारी दिए ।
अख्तियारका अनुसार खुलालले खानेपानी धारा जडानका लागि घुस माग गरेको भन्ने सूचना एवम् उजुरी सेवाग्राहीले दिएका थिए । सोही सूचनाको आधारमा परिचालित हुँदा खुलाल घुस रकमसहित पक्राउ परेको प्रवक्ता भण्डारीले जानकारी दिए ।