-
कृष्ण प्रसाद सापकोटा
यतिखेर हरेक नेपालीको जिब्रोमा ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको कुरा झुण्डिएको छ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार देखि आफ्नै पूर्व प्रमुख आयुक्त सम्मलाई विपक्षी बनाएर ठूलै माछा समाएको प्रचारबाजी गरिएता पनि यो मुद्दामा अख्तियारको निश्पक्षता माथि गम्भिर प्रश्न उठेको छ ।
अख्तियाले ललिता निवास प्रकरणलाई ओझेलमा पारोस भन्ने यो पंतिकारको आशय होइन । अख्तियार जस्तो संवैधानीक आयोग कसैको कठपुतली बनेर कसैलाई काखा र कसैलाई पाखा गर्ने काम गर्नु हुँदैनथ्यो तर यो प्रकरणमा गरियो । नीतिगत निर्णयमा प्रवेश गर्न नमिल्ने भन्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई बयानमा बोलाए जस्तो गरी सुनपानी छर्किने काम जसरी अख्तियारले गर्यो त्यसले गम्भिर प्रश्न खडा गरेको छ ।
पछिल्लो समय सरकारले फकाएर भएसम्म फकाएर नभए तर्साएर भएपनि विभिन्न अंगलाई ध्वस्त पार्नमा केन्द्रीत छ । अख्तियारलाई हटाउने मनस्थितीमा सरकार नभए पनि यो अंगलाई चले जस्तो गराउने तर निरिह बनाउँदै आफ्नो सेवक बनाउनमा केन्द्रीत छ । बुढी मरी भनेर पीर गर्नु भन्दा काल पल्कियो भन्ने कुरालाई बुझ्न जरुरी थियो तर, बुझेर पनि पद र प्रतिष्ठाका लागि अख्तियारका आयुक्तहरु सेवक बन्न पुगे ।
पूर्व प्रधानमन्त्रीद्वयका विषयमा नीतिगत निर्णयलाई आधार बनाइएको होला ठिकै छ सर्बोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेकपाका महासचिव विष्णु पौडेलका सुपुत्रमाथि मुद्दा चलाउने के कुराले रोकियो ? जग्गा फिर्ता गरिदिने तर्कमा मुद्दा नचलाइएको हो भने अवका दिनमा अख्तियारले घुस सहित पक्राउ गरेकाले घुस रकम फिर्ता गरे उनीहरुलाई छाडिन्छ कि छाडिदैन अख्तियारमाथि अर्को यो गम्भिर प्रश्न खडा भएको छ ।
सम्मानीत अदालतमा मुद्दा प्रवेश गरिसकेकाले यस विषयमा ज्यादा टिका टिप्पणी गर्न त्यती जायज नहोला तर अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धानलाई झिकेर अधिकार दुरुपयोग गरिरहेको त छैन जनताले प्रश्न गर्न थालेका छन् ।
खरदार सुब्बाका दुईचार हजार समाउँदा पहाडै खसाए झै गर्ने अख्तियारले राजनीतिक खोल ओढेर कमाइएका आकुत सम्पत्तीका विषयमा किन मौन रहेको छ ? हिजोसम्म चप्पल पड्काएर हिड्नेहरुको आजको जीवन शैली खानपान र निर्वाचनमा गरिने खर्च कहाँबाट आउँछ ? त्यस विषयमा अख्तियारले अनुसन्धान गरेको छ ? यदी यो पंतिकारलाई कसैले सोध्यो भने निर्धक्क साथ भन्छु यसमा अख्तियार मौन छ ।
ललिता निवास प्रकरणमा अख्तियारको जुन तर्क बाहिर आएको छ त्यो हास्याष्पद छ । अख्तियारले व्याख्या गरेर छाडेका व्यक्तिहरु दूधले नुहाएको हुने तर निष्ठा, इमानका पर्याय मानिने चन्द्रदेव जोशी अख्तियारका आँखामा दोषी हुने वाह कस्तो विश्लेषण हाम्रा आयुक्त ज्यूहरुको । वर्तमान सरकारको नेतृत्व गरेको नेकपा यतिखेर पानी माथिको ओभानो बनेको छ ।
हिजोसम्म अत्यन्तै साधुँरा गल्ली भएका बस्तीमा सस्तो कोठा खोजेर बस्ने नेकपाका नेताको आज कम्पाउण्ड भित्रै सानो तिनो सभा सम्मेलन गर्न मिल्ने महल बनेका छन् । यी कसरी बने र कहाँबाट आए यस विषयमा अख्तियारको ध्यान गएको छ ? ललिता निवास प्रकरणमा जुन जुन व्यक्तिलाई अभियुक्त बनाइएको छ ती व्यक्ति बाहेक अन्य व्यक्तिलाई अख्तियारले किन सुनपानी छर्किने काम गर्यो ? अख्तियारको यो कदमले के प्रष्ट पारेको छ भने अब हतियार चलाएर अपराध गर्नेलाई छुट दिएर हतियार बनाउनेलाई कारबाही हुन्छ ।
अख्तियार जस्तो शक्तिशाली र स्वतन्त्र संवैधानीक आयोगलाई सरकारको आदेश पालक र राजनीतिक पार्टीको विभाग जस्तो बनाउने काम पछिल्लो घटनाक्रमले प्रमाणित गरेको छ । गएको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चुनावी सभामा बोलेका कुरा त्यसबेला यो पंतिकारले हावादारी कुरा भन पनि अहिले ति कुरा सम्झदाँ सत्य रहेछ भन्ने पर्न लागेको छ ।
सभापति देउवाले कम्युनिस्टको सरकार आयो भने हास्न र बाेल्न त परै जाओस रुनसम्म पनि पाइदैन भनेका कुरा आज सत्यता तिर अघि बढिरहेको छ । लालभण्डा बोकेर हिडे सय अपराध पनि माफ नभए कुनै न कुनै बहानामा फसाइने दृष्टान्त ललिता निवास घटनाले छर्लङ्ग पारेको छ ।
अख्तियारले सुनपानी छर्किएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईका विरुद्ध बरिष्ठ अधिवक्त बालकृष्ण न्यौपानेले बुधबार सर्वोच्चमा रिट दायर गरेर शाहसिक र न्यायोचित कार्य गरेका छन् । आफ्नो शक्ति कति छ भनेर नबुझेकाहरुले भोली अवश्य थाहा पाउनेछन् आखिर गोमन सर्पलाई जति दूध खुवाएपनि डसेरै छाड्छ भनेर । आज दिप बस्न्यात पर्दै गर्दा भोलीका दिनमा आजका शासकहरु थुप्रै बस्न्यातले पनि अदालत धाउने दिन नआउला भन्न सकिन्न । सबैलाई चेतना भया….