अक्सिजन आपूर्ति गर्न सरकारकाे पहल

| 2021 May 09 | 07:58 am 2033

काठमाडौँ, वैशाख २६ः कोरोना सङ्क्रमण उपचारका लागि अति आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न सरकारले पहल थालेको छ । बाह्य मुलुकबाट सिलिन्डर ल्याउने प्रयास सँगसँगै देशभित्रको आपूर्ति व्यवस्थालाई पनि व्यवस्थित बनाउने प्रयास अगाडि बढाएको छ ।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शैय्या आईसीयूमध्ये १४ शय्या भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय पनि आईसीयू र भेन्टिलेटर खाली हुँदैन । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको अवस्था जटिल हुँदै गएको जानकारी दिए । उनले भने, “अब त अक्सिजनसमेत अभाव हुन थालेको छ, यही अवस्था रहिरह्यो भने अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु हुन सक्छ ।” बिरामीलाई निरन्तर अक्सिजन दिनुपर्ने भएकाले अहिले अक्सिजन अभाव भएको उनले बताए ।

“एक सङ्क्रमितलाई दैनिक १० देखि १५ लिटर अक्सिजन आवश्यक पर्छ, अहिले अक्सिजन अभाव हुँदा बिरामीलाई बचाउन गाह्रो भएको छ,” डा. राजभण्डारीले भने । यस्तै वसुन्धरास्थित कान्तिपुर अस्पतालमा यतिखेर ५५ सङ्क्रमित उपचार गराइरहेका छन् । यो अस्पतालमा पनि अक्सिजनको अभाव छ । “अक्सिजन अभावका कारण अन्य बिरामी भर्ना गर्नसक्ने स्थिति छैन, अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन व्यवस्थापनमा कठिन भइसकेको छ,” अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले भने । अक्सिजन नपाइकन सङ्क्रमितको मृत्यु हुने उनको भनाइ छ ।

पुल्चोकस्थित अल्का अस्पतालमा ६० जना सङ्क्रमित उपचाररत छन् । त्यहाँ पनि अक्सिजनको अभाव हुन थालेको छ । अस्पतालका अध्यक्ष कुमार थापाले अक्सिजन आपूर्ति गर्नेहरूलाई हारगुहार गर्दासमेत अक्सिजन ल्याउन नसकेको बताए । निजी अस्पतालको छाता सङ्गठन प्राइभेट अस्पताल एसोसिएसनका उपाध्यक्षसमेत रहेका थापाले अल्कालगायत अन्य निजी अस्पतालमा अक्सिजनका कारण थप सङ्क्रमित भर्ना गर्न सक्ने अवस्था नरहेको बताए।

नेपाल अक्सिजन उत्पादक सङ्घले अक्सिजन आपूर्तिमा प्रयास गरिरहेको छ । सङ्घका अध्यक्ष गौरव शारडाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कुनै पनि व्यक्ति, संस्था वा अस्पताललाई मन्त्रालयको अनुमतिमा मात्र अक्सिजन दिनुपर्ने निर्देशन भएकाले पनि व्यवस्थापनमा केही ढिला हुने गरेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आवश्यक भएजति अक्सिजन नपाएको तर व्यवस्थापनका लागि प्रयास भइरहेको बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.