अक्सिजन अभावमा संक्रमित बचाउन धौधौ

रिपोर्ट नेपाल | 2021 May 05 | 08:22 am 3317

कैलाली, बैशाख २२ः दोस्रो लहरको कोरानाको नयाँ भेरियन्टको संक्रमण ह्वात्तै बढेर जटिल प्रकारका संक्रमितले अस्पताल भरिभराउ भएका छन्। अक्सिजनको सर्पोट चाहिने संक्रमितको संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको सुदूरपश्चिम प्रदेशका अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ। अक्सिजन नपाएर कयौं संक्रमितको ज्यान गएको छ। छटपटाइरहेका संक्रमितको अक्सिजन नपाएर ज्यान बचाउन धौधौ परेको चिकित्कसले बताएका छन्। अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेका छन् भने संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भएपछि अक्सिजनका लागी संक्रमितका आफन्तले सोर्सफोर्स तथा सबैतिर याचना गर्ने गरेका छन्।

‘अक्सिजनको अभाव छ, राति १२, १ बजे पनि अक्सिजन खोजिदिनुपर्‍यो भनेर फोन आउने गरेका छन्,’ जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अक्सिजन अभावले उत्पन्न अवस्थाबारे भने, ‘अक्सिजनको अभाव हटाएर संक्रमितलाई अक्सिजन सहज बनाउन हामी लागिरहेका छाैं।’ सुदूरपश्चिमको सबैभन्दा ठूलो मानिएको सेती प्रादेशिक अस्पतालमा जडान भएको अक्सिजन प्लान्ट चौबिस घण्टामा जम्मा ७ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको छ।

विद्युत्को गडबडीलगायतले अहिले ५५, ६० सिलिण्डर मात्र उत्पादन भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। सेती प्रादेशिक अस्पतालमा अहिले दिनहुँ डेढ सय जति अक्सिजन सिलिण्डर आवश्यक रहेको उनले बताए। यसैगरी, महाकाली प्रादेशिक अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको क्षमता २४ घण्टामा १२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने मात्र रहेको अस्पातलका मेडिकल सुपरिटेन्डेन्ट हरि श्रेष्ठले बताए। ‘हामीलाई अस्पतालमा कम्तीमा प्रत्येक दिन ४०, ५० सिलिण्डर अक्सिजन चाहिन्छ,’ उनले भने, ‘संक्रमितको चाप बढेमा अझै बढी खपत हुन्छ।’

यसैगरी डडेल्धुरा अस्पताल, टीकापुर अस्पताललगायतमा पनि अक्सिजनको कमी छ। सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लामा अहिलेसम्म अक्सिजनको सहायतामा उपचार गर्न नै सुरु गरिएको छैन। सुदूरपश्चिमभरिमा एक मात्र निजी ग्यास उद्योग रहेको छ। निजी उद्योगले पनि ७०, ८० मात्र अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराईरहेको छ। नेपालगन्जबाट पनि आवश्यकता अनुसार अक्सिजन सिलिण्डर नआएकाले समस्या भएको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले बताए। ‘अक्सिजनको धेरै समस्या भएको छ,’ उनले भने, ‘अक्सिजन नपाएर बिरामी छटपटाइरहेका छन्।’ प्रदेश सरकारले तदारुकताका साथ काम नगर्नाले समस्या भैरहेको उनी बताउँछन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.