९ विषयको पाठ्यपुस्तक छपाइ नै बाँकी

रिपोर्ट नेपाल | 2020 Feb 14 | 08:16 am 1553

काठमाडौं, फागुन २: आउँदो शैक्षिकसत्र २०७७ का लागि समयमै पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएपछि पाठ्यक्रम निर्माण गर्ने पाठ्यक्रम विकास केन्द्र र छपाई गर्ने जनक शिक्षा सामग्री केन्द्रबीच आरोपप्रत्यारोप शुरु भएको छ। यसको कारण अहिलेसम्म ९ विषयको पाठ्यपुस्तक छपाइ नै भएको छैन।

कक्षा ६–८ को गणित, पेशा व्यावसाय र कम्प्युटर गरी तीन विषयको पुस्तक छपाइ नै भएको छैन। सरकारले ६–८ कक्षाको सबै विषयको पाठ्यपुस्तक रंगिन छपाइ गर्ने निर्णय गरेको थियो। समयमै कागज ल्याउन नकसेर पुस्तक छाप्न ढिलाइ गरेको जनक शिक्षाले तयारी गरेको प्रिन्ट रेडी कपी (पीआरसी) नआएका कारण छपाइ गर्न ढिलो भएको बताउँदै आएको छ।

केन्द्रले करिब तीन साताअघि सबै विषयका पीआरसी उपलब्ध गराइसकेको थियो । तर जनकले पीआरसीनै नआएको बहाना गर्दै पुस्तक छपाइ गर्न नसक्नु जनक शिक्षाको गम्भीर लापरबाही भएको केन्द्रको आरोप छ। केन्द्रका महानिर्देशक डा लेखनाथ पौडेलले पीआरसी उपलब्ध गराउँदा पनि नदिएको र बिग्रिएको आरोप लगाउनु जनकको काम गर्ने क्षमतामा प्रश्न उठेको बताए।

उनले भने–कागज नभएका कारण पाठ्यपुस्तक छाप्न नसकेको जनकले केन्द्रलाई दोष थोपरेर पन्छिन खोजेको हो। तर जनकले भने पीआरसीमा इरर देखिएपछि ६–८को तीनैवटा विषय फिर्ता गरेको जनाएको छ। जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले पीआरसी बिग्रिएका कारण ढिला भएको बताउँदै भने– हामीले केन्द्रमा पीआरसी पठाएका छौं, आएपछि छपाइ शुरु गर्नेछौं।

केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले जनक शिक्षाले पीआरसीमा त्रुटी देखिएको विषयमा कुनै जानकारी नदिएको उल्लेख गरे। कहाँ पीआरसीमा त्रुटी देखिएको छ, समयमै छाप्न नसकेपछि जनक शिक्षाले बहाना गरेको हो। केही दिनअघि गणित विषयमा त्रुटी देखिएपछि केन्द्रका कर्मचारीले त्रुटी सच्याएका थिए, तर अहिले कुनै पनि पिआरसी बिग्रिएको छैन –भट्टराईको भनाइ छ।

केन्द्रका महानिर्देशक डा पौडेलले केन्द्रले रुटिनअनुसार सबै विषयको पीआरसी पठाइसकेको जानकारी दिए। पछिल्लो समय कागज ल्याउन नसकेर एक हप्ता छपाइ रोकेको जनक शिक्षाले विभिन्न बहाना गर्दैआएको छ। आफूसँग भएको स्टक शून्यमा झार्न रंगीन पुस्तक छाप्न ढिलो गर्दा आएको छ। छपाइ ढिलो भएकै कारण हिजोबाट शुरु भएको पाँच हिमाली जिल्लामा केहीबाहेक रंगिन पुस्तक पुग्न सकेको छैन।

जनक शिक्षाका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमल्सिनाले कागज आउन ढिलो भएका कारण हिमाली जिल्लामा रंगिन किताब पुर्याउन नसकेको स्वीकारेका छन् ।। उनले भने–अब कागज आइसकेको छ, छपाइलाई निरन्तरता दिनेछौं। उनले पीआरसी ढिलो भएको कारणले पनि छपाइमा समस्या भएको बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.