काठमाडौं, वैशाख ३ : नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ।
ललितपुर महानगरपालिका–३ स्थित कित्ता नम्बर १ सय ८६ को ७ रोपनी १० आना जग्गा पुनः सरकारका नाममा ल्याइएको हो। यो जग्गा संघको भोगाधिकारमा थियो।
गत माघ २ गते संघले व्यापारीलाई लिजमा स्थायी संरचना बनाउन दिएको स्वीकृति खारेज गर्दै सरकारले उक्त जग्गा फिर्ता ल्याएको हो। उक्त जग्गा २०६३ साउन २२ गते सरकारले संघलाई भोगचलनका लागि मात्रै दिएको थियो।
गत चैत २६ गते रक्षा मन्त्रालयका सचिव रेस्मिराज पाण्डेले उक्त जग्गा फिर्ता ल्याउने निर्णय गरेका हुन्। सरकारी जग्गा हिनामिना हुन लागेको भन्दै नारायण कोइराला तथा भूपू सैनिक संघमै आबद्ध केही पूर्वसैनिकले सचिवलाई भेटेर गैरकानुनी निर्णय रोक्न माग गरेको रक्षा मन्त्रालयको सम्झौता खारेजसम्बन्धी निर्णयमा उल्लेख छ।
सैनिक संघ र व्यापारीको मिलेमतोमा अनधिकृत भोगचलन र हिनामिना भएको पाइएपछि सरकारले उक्त जग्गा फिर्ता ल्याएको रक्षा मन्त्रालयले जनाएको छ।
रक्षा मन्त्रालय स्रोतले भन्यो, यससम्बन्धी परेका उजुरी र विद्यमान कानुनी प्रावधान अध्ययन गरेपछि उक्त जग्गा सरकारका नाममा फिर्ता ल्याइएको हो। संघले पुल्चोकको साझा प्रकाशनसँगै जोडिएको जग्गामा निजी कम्पनीलाई गैरकानुनी रुपमा व्यापारिक भवन बनाउन दिन सम्झौता गरेको थियो।