७ दिनभित्र माग पूरा नभए सरकारलाई दिएकाे समर्थन फिर्ता लिने राजपाको चेतावनी

| 2018 Dec 25 | 02:53 pm 1474

काठमाडौँ, पुस १० : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरुबीच भेटवार्ता भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्यहरू प्रधानमन्त्रीलाई भेट्न मङ्गलवार दिउँसो प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका हुन् ।

संविधान संशोधनलगायतमा माग पूरा गर्ने शर्तमा सरकारलाई समर्थन गरेको राजपाले आफूहरूको माग पूरा नभएको भन्दै समर्थन फिर्ता लिनेसमेत चेतावनी दिएको छ । प्रधानमन्त्री ओलीले राजपा नेपालको माग सम्बोधनका लागि एक साताको समय मागेका छन् ।

राजपाले संविधान संशोधन, कैलाली–१ बाट निर्वाचित सांसद रेशम चौधरीको शपथ ग्रहण, विभिन्न आन्दोलनमा पक्राउ परेका कार्यकर्ताको मुद्दा फिर्ता र रिहाइको माग गर्दै आएको छ । प्रधानमन्त्री ओलीले सबै माग ‘प्याकेज’मै सम्बोधन गर्ने आश्वासन दिएका छन् । राजपाले सात दिनभित्र माग पूरा गर्ने प्रक्रिया सुरु नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दोहोर्‍याएको छ ।

राजपाले आफ्नो मागबारे यसअघि प्रधानमन्त्री ओलीलाई पाँच पटक ज्ञापन–पत्र बुझाइसकेको छ । राजपाले आज बस्ने भनिएको अध्यक्ष मण्डलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.