काठमाडौं, पुस १४ः तारकेश्वर नगरपालिका-४ बाट १ हजार दरको ४ थान नक्कली नोट सहित बारा आदर्श कोटवाल गाउँपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ रातोपुल बस्ने पप्पु भन्ने ४९ वर्षीय शेख निसम अख्तरलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं तारकेश्वर सानोपुल एरियाको आसपासमा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा बनाई सद्दे सरह चल्तीमा ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।
उनीलाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु काठमाडौं पठाइएको छ ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
काठमाडौं, सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी अन्य महिलाको नग्न तस्वीरमा पीडितको टाउको जोडी पीडित लगायत पीडितका आफन्त तथा साथीहरुले प्रयोग गर्दै आएको फेसबुक म्यासेन्जरमा उक्त अश्लिल तस्वीर पठाई पीडितलाई मानसिक तनाव, दु:ख हैरानी दिने कार्यमा संलग्न रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।