४८ दिनपछि शून्यमा अनुसन्धान: निर्दोषलार्इ यातना, गृहमन्त्री मुखदर्शक

| 2018 Sep 12 | 07:05 am 2197

कञ्‍चनपुर, भदौ २७: कञ्‍चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्‍कारपछि हत्या भएको ४८ दिन बितेको छ। दोषी भनेर सार्वजनिक गरिएको दिलिप सिंह विष्ट र अभियुक्तका रुपमा हिरासतमा रहेका बम दिदीबहिनीहरु थुनामुक्त भएका छन्। अझै अपराधी पत्ता लगाउन सकेको छैन। ४८ दिपछि आएर फेरि अनुसन्धान शून्यमा पुगेको छ।

अनुसन्धानका लागि पटकपटक टोली परिवर्तन भइरहेका छन्। तर, अनुसन्धान अपराधीनजिक पुग्‍न सकेको छैन। छानबिनमा फरक कोण राख्ने उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन्। उनको निष्कर्ष आखिर के हो त भनेर प्रधानमन्त्री र गृहमन्त्रीले बोलाएर बुझ्न सक्थे। तर, केसी मंगलबार मन्त्रालय धाउँदा पनि गृहमन्त्रीले भेटसमेत दिएनन्।

बर्दीको आडमा प्रहरीले सोझासीधा धेरै पक्राउ गरिसक्यो, तर स्थानीय जनताले जोमाथि निरन्तर औँला उठाइरहेका छन् तिनीमाथि अनुसन्धान केन्द्रित भएको छैन। प्रधानमन्त्रीले टेलिभिजनबाट भनेजस्तै आन्दोलन विवेकहीन हुन्थ्यो र प्रहरीको अनुसन्धान निष्पक्ष हुन्थ्यो भने दिलीपसिंह विष्ट नै अपराधी साबित हुन्थे।

तर, डिएनए परीक्षणसमेत त्यही आयो जो कञ्चनपुरवासी जनताले भनेका थिए। तर, न्यायको पक्षमा उभिँदा गोली हानी एकजनाको हत्या गरियो, अर्का एक अचेत छन्। यत्रो ठूलो मूल्य चुकाएर प्रहरीले भन्न बाध्य भएको छ, ‘दिलीपसिंह विष्टको अपराध पुष्टि हुन सकेन।’

को-को पक्राउ परेर यातना भोगे?

दिलीप विष्टलाई भन्दा अघि २१ साउनमा प्रहरीले स्थानीय युवा चक्र बडूलाई पनि पक्रेर ११ दिनसम्म यातना दिएको थियो। प्रहरीले चक्रसँगै १५ वर्षीया बहिनी लक्ष्मी र ११ वर्षीय भाइ गौतमलाई पनि पक्राउ गरेको थियो। बहिनी र भाइलाई सोही दिन छाडिए पनि चक्रलाई भने हिरासतमा मानसिक यातना दिएर राखियो। चार दिनसम्म त परिवारका कसैलाई भेट्नसमेत दिइएन।

रोल्पामा प्रहरी जवानका रूपमा कार्यरत दाजु महेश आएपछि मात्रै चौथो दिन भेट गराइयो। उनलाई पनि अपराध स्वीकार्न र अस्वीकार गरे परिवार नै बर्बाद गरिदिने धम्की एसपी डिल्ली विष्टले दिएका थिए। ११ दिनपछि उनलाई प्रहरीलाई गालीगलौज गरेको सार्वजनिक मुद्दा लगाएर छोडिएको थियो।

चक्र बडूअघि प्रहरीले १८ साउनमा स्थानीय किशोरी हेमन्ती भट्टलाई पक्रेर पाँच दिनसम्म यातना दिएको थियो। स्थानीय जनज्योति बहुमुखी क्याम्पसमा कक्षा १२ मा पढ्ने १७ वर्षीया भट्टलाई शिक्षक र विद्यार्थीकै अगाडि घिसार्दै लगिएको थियो। हिरासतमा खुट्टा माथि र टाउको तल पारेर यातना दिएपछि तत्कालीन एसपी डिल्ली विष्टले निर्मलाको बलात्कार र हत्यामा संलग्न रहेको बयान दिन दबाब दिएका थिए। आफन्त पुरुषहरूसँग मिलेर अपराध गरेको बयान दिन नमाने जीवन बर्बाद गराउने धम्की एसपी विष्टले दिएका थिए। तर, वडाध्यक्षसहित कलेजका विद्यार्थी गएर हेमन्तीलाई छुटाएका थिए।

हेमन्तीभन्दा अघि १२ साउनमा प्रहरीले दीपक नेगी र जीवन घर्तीमगरलाई पक्राउ गरेको थियो। तर, पछि दीपक गम्भीर प्रकृतिको यौनरोगले ग्रस्त भएको पत्ता लाग्यो। त्यस्तै, जीवनले बयानका क्रममा भने, ‘हो, मैले निर्मलालाई खुकुरीले काटेर मारेँ।’ जब कि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको घाँटी निमोठी हत्या गरिएको थियो। जीवन मानसिक रोगी भन्ने पनि खुल्यो। तर, प्रहरीको यति फितलो अनुसन्धानका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले संसद्मा दीपक र जीवनको नामै लिएर अपराधी पक्राउ परिसकेको दाबी गरे।

गृहमन्त्री मुखदर्शक

यसरी शृंखलाबद्ध रूपमा प्रहरीले एकपछि अर्को निर्दोषलाई अभियुक्त बनाउन खोजेको छ, तर स्थानीय जनताले जोमाथि औँला उठाएका छन्, उनलाई गिरफ्तारसमेत गरिएको छैन। यसरी सोझासीधा जनतालाई पक्राउ गर्ने र यातना दिएर अपराध बक्न लगाउने एसपी विष्टकै छोरा किरणमाथि नै अनुसन्धान गर्न स्थानीयवासीले माग गरिरहेका छन्। तर, उनीमाथि अनुसन्धान भएको छैन। प्रहरीको विश्वसनीयता र सरकारको संवेदनशीलतामाथि यति ठूलो प्रश्न उठ्दा पनि प्रधानमन्त्री र गृहमन्त्री मूकदर्शक छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.