एसएसपी लोहनीपछि पूर्वडिआईजी निरौला पनि रिहा

| 2018 Sep 27 | 07:40 pm 3010

काठमाडौँ, ११ असोज :  त्रिभुवन विमानस्थलबाट ३८ क्वीन्टल सुन तस्करी प्रकरण र सनम शाक्य हत्याकाण्डमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौला रिहा भएका छन् । पूर्वडीआईजी निरौलालाई विराटनगर उच्च अदालतले साधारण तारखेमा रिहा गर्न आदेश दिएको हो ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । पूर्वडीआईजी निरौलासहितले सुनकाण्डमा निर्दोष रहेको भन्दै थुनामुक्त गराइ पाउन उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतको आदेशमा यसअघि एसएसपी दिवेश लोहनी र डीएसपी प्रजीत केसीलाई पनि रिहा गर्न आदेश दिइसकेको छ ।

बहसमा सरकारी वकिलको तर्फबाट सहन्यायधिवक्ता चिरन्जीबी पराजुली र जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट बरिष्ठ अधिवक्ता रमेश कोइराला, भानुभक्त निरौला र बिकास थापाले बहस गरेका थिए ।

१० वैशाखमा पक्राउ परेका निरौलालाई ८ जेठमा जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा अदालती बन्दोबस्तीको १७ नम्बर निवेदन दिएका निरौलाको १९ पटक पेसी सरेपछि बिहीबार बहस भएको थियो ।

तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखामा कार्यरत केसी भदौ ३१ गते रिहा भएका थिए । महाशाखाका तत्कालिन प्रमुख एसएसपी लोहनी पनि भदौ २९ गते साधरण तारेखमा रिहा भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.