३५ जनाले धौलागिरि हिमाल आरोहणका लागि अनुमति लिए

| 2023 Apr 27 | 02:12 pm 529

म्याग्दी, बैशाख १४ः संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्तकालिन सिजनमा ३५ जनाले अनुमति लिएका छन् । अनुमति लिएकाहरु यतिखेर आधार शिविरमा पुगिसकेका छन् । अनुकुल मौसमको प्रतिक्षामा उनीहरु आधारशिविरमै रोकिएको बताएका छन् ।

म्याग्दीको धौलागिरि गाउँपालिका –४ मुदीमा अवस्थित ८ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि आरोहणका लागि यस सिजनमा २४ पुरुष र ११ जना महिलाले अनुमति लिएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए । उनीहरु सेभेन समिट, इलाइट र पाइनर एडभेन्चरको व्यवस्थापनमा  धौलागिरि आरोहण गर्न लागेका हुन ।

यसवर्ष धौलागिरि जाने आरोहीबाट ८१ लाख ५४ हजार एक सय ७० रपियाँ रोयल्टी जम्मा भइसकेको पर्यटन विभागले जनाएको छ । सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा २५ जना धौलागिरि आरोहणका लागि आधार शिविर पुगेको र अनुकुल मौसमको प्रतिक्षामा रहेको सभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईँले जानकारी दिए ।

धौलागिरि हिमालमा हिमपात भइरहेकाले आरोहीहरु आधार शिविरमै रोकिएका छन्, उनले भने, ‘‘मौसममा सुधार आउनेवित्तिकै आरोहीहरु आधारशिविरबाट प्रस्थान गर्नुहुनेछ ।’’ हिमपात भएकाले बाटो खोल्न चुनौती भएको बेसक्याम्प पुगेर फर्किएका अन्नपूर्ण गाउँपालिका –३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।

बाटो बनाउन निकै कठिन भएको छ, उनले भने, ‘‘शेर्पाहरुले बाटो बनाउने प्रयास गरिरहनु भएको छ । आजभोलि मौसममा केही सुधार आएको छ । बाटो तयार भयो भने आधार शिविरमा रोकिएका आरोहीहरुले आरोहण थाल्नेछन् ।’’

अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरुको अनुभव छ । यसैगरी म्याग्दीकै अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा रहेको आठ हजार ९१ मिटर अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि यस सिजनमा ५४ जनाले अनुमति लिएका छन् । आरोहीबाट एक करोड ४ लाख २६ हजार चार सय १० रुपियाँ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.