काठमाडाैं, वैशाख ५ : सरकारका प्रवक्ता एवं सञ्चार, सुचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ३३ किलो सुनबारे सोधिएको प्रश्नको जवाफमा देशमा ३८ क्विन्टल सुन नै गायब भएको बताएका छन्।
सिंहदरबारस्थित सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै मन्त्री बास्कोटाले भने, ‘३३ किलो सुनको कतिपल्ट भन्ने? ३३ किलो सुनको कुरा निकै भयो, विगतमा ३८ किलो सुन नै बेपत्ता भएको रैछ,’ उनले भने, ‘हामी यसको सबै नेक्सस नै ध्वस्त बनाउने अभियानमा छौं।’
उनले ललिता निवासको जग्गाका सम्बन्धमा कुनै पद तथा ओहादाले छानविन प्रक्रिया नरोकिने पनि बताए । जग्गामा जोसुकै मुछिएको भएपनि कारबाही गरेरै छाड्ने दाबी गरे । सरकारले आफ्नो काम गरी सकेको छ ,जग्गा रोक्का राखिसकेको छ,’ उनले भने,‘ आवश्यक कारबाही हुन्छ । सरकारी सम्पत्तिको रक्षा सरकारले गर्छ ।’
उनले कुनै पनि आरोप वा व्यंग्य गरिरहे पनि जनताको हितमा सबै अपमान सहेर भएपनि काम गर्न तत्पर रहेको बताए। ‘अनुहार हेरेपछि चिनेको पर्ला, नाता, कुटुम्ब पर्ला,’ उनले भने, ‘ यही ३ करोड नेपाली भित्रको कुरा हो। कोही न कोही हामी सबैको दाजुभाई दिदीबैनी नै हो। त्यसबाट प्रभावित नहुने कुरा प्रधानमन्त्रीले पटकपटक सञ्चार माध्यम मार्फत बताइरहनु भएको छ, यस्तै समस्या कहाँकहाँ छ, यसमा तपाईंहरुको पनि हामी सहयोग चाहन्छौं।’ उनले भ्रष्टाचार र तस्करी कुनै पनि अपराधमा सरकारी सम्पत्तिको दुरुपयोग भए सहनशील भएर बस्न नसक्ने बताए।