काठमाडाैं, असाेज १७ः २ हजार किलो पटकासहित एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका-१ का ३० वर्षीय कामेश्वर प्रसाद यादव रहेका छन् । यादवले विभिन्न मितिमा भारतबाट पटाका ल्याएर काठमाडौंको कागेश्वरी नगरपालिका-८ गोठाटारस्थित जलविनायक चोकमा रहेको गोदाममा राखेका थिए।
कार्टुनमा बाहिर इलेक्ट्रिकल सामान लेखेर भित्र पटाका राखी ल्याएका थिए । उनले इँटाको ट्रकभित्र राखेर पटाका काठमाडौं भित्र्याएको पाइएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।
दसैंतिहार आउनुभन्दा अगाडि नै उनले पटाका काठमाडौं भित्र्याउने काम गरेको एसएसपी खापुङकाे भनाइ छ ।
कामेश्वर काठमाडौंको कबाडी सामानको कारोबार गर्नुका साथै तराईका जिल्लाबाट इँटा ल्याएर काठमाडौंमा बिक्री वितरण गर्दै आएका थिए । त्यहीं इँटा ल्याउने ट्रकभित्र लुकाएर पटाका काठमाडौं ल्याउन सफल भएका थिए ।
विशेष सूचनाको आधारमा महाशाखाको टोलीले गएराति नै पटाका बरामद गर्नुका साथै कामेश्वरलाई पनि नियन्त्रणमा लिएको हाे । नेपाल-भारत सीमा नाकामा कडा निगरानी छ । तर, उनले मुख्य नाकाभन्दा अन्य नाकाबाट पटाका नेपाल भित्र्याएको एसएसपी खापुङले बताए ।
पक्राउ परेका कामेश्वरलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फाेटक पदार्थ सम्बन्धि कसुर अन्तर्गत मुद्दामा आवश्यक कारवाहीका लागि महानरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।