२ लाख जनसंख्यालार्इ एक चिकित्सक !

रिपोर्ट नेपाल | 2018 Jun 02 | 10:33 am 3137

चितवन , जेठ १९: प्रदेश नम्बर तीनको प्रवेशद्वार मानिने चितवनमा दुर्इ लाख जनसंख्या चिकित्सकको भरमा छ । २ लाख भन्दा बढी जनसंख्या र ४ नगरपालिका भएको पुर्वी चितवनमा १ विशेषज्ञ चिकित्सक र केही मेडिकल अफिसर छन् ।

चितवनलाई मेडिकल सिटीका रूपमा चर्चा गरिन्छ तर यहाँ प्राथमिक स्वास्थ्य केन्द्रसमेत नभएपछि झन्डै ६० हजार जनसंख्या भएको राप्ती नगरपालिका चिकित्सकविहीन छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा यसै साता सौराहामा पूर्वी चितवनको विकाससम्बन्धी अन्तरक्रिया हुँदा त्यस क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था नाजुक रहेको कुरा उठ्यो । नगरमा ६ वटा स्वास्थ्य चौकी र एक सामुदायिक स्वास्थ्य इकाई छ। यी स्वास्थ्य इकाईमा स्वास्थ्य सहायक (एचए) ले नै स्थानीयलाई सेवा दिने गर्छन्। जनसंख्याको चापको हिसाबले यो सेवा निकै अपुरो रहेको राप्ती नगरपालिकाका मेयर प्रभा बरालको भनाइ छ।

राप्ती नगरपालिकामा आदिवासी चेपाङ समुदायको बसोबास भएका पहाडी बस्ती छन् । ‘ती समुदायमा बिरामी परे दिनभर लगाएर राजमार्गमा झारेपछि उपचार गर्न सदरमुकाम लैजानुपर्ने अहिलेको बाध्यता छ। यो अवस्था हटाउन भण्डारामा एउटा २५ शय्याको अस्पताल बनाउन माग गरेको छु,’ मेयर बरालले भनिन्।

अस्पताल स्थापना गर्न प्रदेश सरकारको सिफारिस पत्र दुई महिनाअघि संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा बुझाएको मेयर बरालले जनाइन्। खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीमा एक तथा अन्य केही करारका चिकित्सक भए पनि उपचार सर्वसुलभ नभएको बताउँछन्।

हामीलाई एक फिजिसियन र अर्थोपेडिक सर्जन अति आवश्यक छ,’ मेयर वनले भने। रत्ननगर निकुञ्जसँग जोडिएको क्षेत्र पनि भएकाले वन्यजन्तुले आक्रमण गर्ने घटना प्राय: भइरहन्छन्। त्योसँगै राजमार्ग क्षेत्र पनि भएकाले दुर्घटना पनि भइरहन्छन्। त्यसैले अर्थोपेडिक सर्जन आवश्यक भएको रत्ननगरका मेयर वनले बताए । तर आवश्यक भएर माग गरे पनि संघीय सरकारले तत्काल सुनुवाइ गर्छ भन्नेमा जनप्रतिनिधिलाई विश्वास भने छैन। प्रदेश मुख्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा चितवनभन्दा अन्यत्र दुरावस्था रहेकाले त्यतै बढी ध्यान दिनुपर्ने बाध्यता रहेको जवाफ दिएका थिए।

धेरैजसो अस्पताल भरतपुर महानगरपालिका–१० मा सीमित भए। तथ्यांकबाटै सदरमुकामभन्दा टाढा अस्पताल र चिकित्सकको अभाव रहेको चित्र सपाट छ । पूर्वी चितवनमा रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिका छन्। चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रत्ननगर नगरपालिकामा मात्रै अस्पताल छ। जहाँ एक जना विशेषज्ञ डाक्टर मेडिकल सुपरिटेन्डेन्ड छन्। कालिका र खैरहनी नगरपालिकामा एक/एक जना चिकित्सक दरबन्दी रहेका प्रथामिक स्वास्थ्य केन्द्र छन्। राप्ती नगरपालिकामा न अस्पताल छ न प्रथामिक स्वास्थ्य केन्द्र नै भन्‍ने खबर आजको कान्तिपुर दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.