२ किलो सुनसहित शेर्पा परे प्रहरीको फन्दामा

| 2023 Aug 20 | 12:34 pm 5909

रसुवा, भदाै ३ । त्रिभुवन विमानस्थल नजिकै समाइएको सुनको हल्ला सेलाउन नपाउदै रसुवामा  फेरी एक जना पैदलयात्री २ किलो सुनसहित प्रहरीको फन्दामा  परेका छन्।

टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेको  जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक  ज्योतिराम केसीले बताए ।

विशेष सुराकीको आधारमा ‘स्याफ्रुवेशीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले उनलाई रोकेर खानतलासी गर्ने क्रममा उक्त सुन सहित शेर्पालाई पक्राउ गरिएको  ’ प्रहरी नायब उपरीक्षक केसीले जनाएका छन्।

शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए।

पक्राउ गरिए लगत्तै शेर्पासँग केरकार गर्दा उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका छन् । उनको बयानका आधारमा फुसाङ्वु शेर्पालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका  दुबै जना र सुनको अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.