२१ लाख भारतीय रुपियाँसहित तीन पक्राउ

| 2023 Feb 03 | 03:38 pm 1173

कपिलवस्तु, माघ २०ः कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २१ लाख सात हजार एक सय भारतीय रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ विमिहा बस्ने ३५ वर्षीय राजेशकुमार बर्मा, सोही स्थानका २६ वर्षीय राकेशकुमार बर्मा र गाडी चालक भारतको सिद्धार्थनगर ग्राम अनुपनगर नौगढ घर भई हाल मायादेवी गाउँपालिका–१ इमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान रहेका  छन् ।

स्रोत नखुलेको भारतीय रुपियाँ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको हो । बिहीबार राति ९ बजे प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतको नेतृत्वमा खटिएका प्रहरी टोलीले कपिलवस्तु नगरपालिका–२ जमुवारपुलबाट भैरहवाको तौलिहवातर्फ आउँदै गरेको कार चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

युपी ५५ ए एम ०४५९ नम्बरको गाडीमा फल्स बटम बनाई लुकाई राखेको स्रोत नखुलेको भारतीय रुपियाँसहित उनीहरुलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक बस्नेतले बताए । स्रोत नखुलेको भारतीय रुपियाँलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएकाे उनले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई वैदेशिक मुद्रा अपचलनसम्बन्धी मुद्दा चलाउन थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.