सुर्खेत, असोज ६: अवैध रुपमा ल्याउंदै २१ तोला सुनसहित बाँके नेपालगञ्जका एक सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष ब्यूरोले नेपालगञ्ज उपमहानगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई शनिबार सुब्बाकुनाबाट सुन सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्यामसिंह चौधरीका अनुसार जसगढले भे ५ प १८ नम्बरको मोटरसाईकलमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । ‘विशेष सूचना पाएपछि प्रहरीले चेकजाँच गर्न खोज्दा भागेका थिए, डीएसपी चौधरीले भन्नुभयो, ‘सुब्बाकुनाको चेक प्वाइन्ट भन्दा तीन सय मिटर पर भागिसेका जसगढलाई प्रहरीले पीछा गरेर पक्राउ गर्यो ।’
प्रहरीले उनको साथबाट विभिन्न सुनका गरगहना, अन्दाजी २१ तोला सुन, ७९ ग्राम पठ्ठरसहित बरामद गरेको छ । उक्त सुनको बजार मुल्य १२ लाख रुपैयाँ बराबर छ । जसगढलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।