२०४८ सालदेखि बालुवाटारको जग्गा कब्जा भएको थियाे : मन्त्री अर्याल

रिपोर्ट नेपाल | 2019 May 09 | 04:49 pm 2377

रामेछाप, वैशाख २६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री निवास बालुवाटारमा रहेको ललिता निवासको जग्गा २०४८ सालदेखि कब्जा सुरु भएको बताएकी छिन् । रामेछापको मन्थलीस्थित नापी कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै मन्त्री अर्यालले भूमि सुधारमा जमानादेखि बेथेती रहेकोले त्यसलाई सुधार गरी सेवालाई नागरिक मैत्री बनाउनु वर्तमान सरकारका लागि चुनौति रहेको बताएकी हुन् ।

बालुवाटारको जग्गा कब्जा प्रकरणबारे अहिलेको सरकारले मात्रै खाेजबिन गरेकाे मन्त्री अर्यालकाे तर्क छ । अर्यालले भनिन् -‘अहिलेको सरकारलाई जोडेर जग्गा कब्जाको कुरा उचाल्नु व्यर्थ छ ।’ उनले वर्तमान समाज नकारात्मकतर्फ उद्धृत रहेको भन्दै त्यसले भोलिका दिनमा दुर्घटना निम्तीने खतरा रहेको औंल्याइन् ।

‘छु मन्तर गरेर हिजोको बेतिथी अन्त्य हुँदैन । विस्तारै सरकारले काम गरिहेको छ’ । अर्यालले भनिन्- ‘मालपोतमा नापीमा काम लिएर आएको नागरिकले हाँसेर फर्कने वातावरण बनाउन सरकार प्रयासरत छ ।’

नेपालका सबै क्षेत्रमा पुनःनापी गर्ने र भू-उपयोग नक्सा तयार गर्ने काममा सरकार लागेको अर्यालले बताइन् । ‘विगतमा नापी मात्र थियो, कस्तो जमिन के का लागि प्रयोग गर्ने भन्ने योजना थिएन’ अर्यालले भनिन्, ‘अब हिजोको जस्तो हैन, कानुन र नीति भएपछि स्थानीय सरकारले कठोर भएर लागू गरेमा मात्र वास्तविक भूउपयोग गर्न सकिनेछ ।’ खेती बाँझो नराख्ने र जमिन खण्डीकरण रोक्ने विषयमा समेत सरकार गम्भीर रहेको उनले बताइन् ।

कर्मचारी समायोजनले मुलुकभरका मालपोत र नापी कार्यालयमा कर्मचारीको अभाव रहेकोले केही गुनासो रहेको उनले स्वीकारिन् । नापी विभागमा झण्डै ८ सय दरबन्दी रिक्त रहेका छन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्तेत र प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले रामेछापमा भूमि व्यवस्थानमा देखिएका समस्याका बारेमा धारणा राखेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.