काठमाडौं, माघ १६: चालू आर्थिक वर्षभित्र १ हजार ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । यो वर्ष विभिन्न ५० वटा आयोजना केन्द्रीय प्रसारण लाइनमा थपिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यी आयोजनाको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिँदा हालको मागभन्दा बढी विद्युत उत्पादन हुने भएपछि प्राधिकरणले विद्युत बेच्ने तयारीसमेत गर्न लागेको हो ।
निर्माणाधीन ५० वटा आयोजना यसै वर्ष सम्पन्न हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताएका छन् । उनले भने, यो वर्ष १ हजार मेगावाटभन्दा बढी विद्युत केन्द्रीय प्रणालीमा जोडिँदै छ । हामीले सबै ठाउँमा प्रसारण लाइन निर्माण गरी सकेका छैनौं, यो अवस्थामा विद्युत उत्पादनसँगै चुनौती पनि थपिएको छ । त्यसकारण हामीले वैकल्पिक प्रसारणको प्रयोग गर्नुपर्ने देखिन्छ । यो विद्युत प्रसारण लाइनमा जोडिँदा हालको मागलाई धान्न सक्ने देखिन्छ, प्रवक्ता अधिकारीले बताए ।
प्राधिकरणका अनुसार हाल नेपालको पिक समयको विद्युत माग १ हजार १ सय ६८ मेगावाट रहेको छ । जसमध्ये प्राधिकरणबाट ४ सय ८१ मेगावाट विद्युत केन्द्रीय प्रणालीमा जोडिएको छ ।
निजी क्षेत्रबाट ३ सय २० मेगावाट र भारतबाट ३ सय ६७ मेगावाट आयात गरेर विद्युत आपूर्ति गरिँदै आएको छ । यो तथ्यांकलाई आधार मान्ने हो भने हाम्रो हाल जम्मा उत्पादन ८ सय १ मेगावाट रहेको छ । चालू आर्थिक वर्षमा १ हजार ४ मेगावाट केन्द्रीय प्रणालीमा जोडिने हो भने जम्मा उत्पादन १८ सय ५ मेगावाट हुन जान्छ, जुन हाम्रो मागभन्दा करिब ६ सय ३५ मेगावाटभन्दा बढी हुन जान्छ ।
त्यसकारण प्राधिकरणलाई विद्युत व्यापारको बाटो खुलेको हो । उत्पादित विद्युत बढी भएको खण्डमा प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत भारतमा बेच्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले भारतको विद्युत व्यापार निगमसँग विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको बताइएको छ ।
विद्युत खरिदका लागि भारतको ऊर्जा मन्त्रालयले कार्यविधि तयार गरिरहेको प्राधिकरणले जनाएको छ । कार्यविधि आउनासाथ हामीलाई बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत बिक्री गर्न बाटो खुला हुनेछ । विद्युत् कारोबार गर्दा अनलाइनमार्फत मूल्यस्तर निर्धारण हुनेछ । यस्तो मूल्य हरेक १५÷१५ मिनेटमा निर्धारण हुने प्राधिकरणले जनाएको छ । अनलाइनले २४ घण्टामा ९६ वटा मूल्य निर्धारण गर्ने प्राधिकरणको भनाइ छ ।
विद्युत व्यापारकै लागि प्राधिकरणले ४ सय केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन निर्माण गरिरहेको छ । यो प्रसारण लाइनले १ हजार मेगावाट विद्युत धान्न सक्ने प्राधिकरणको दाबी छ ।
उक्त प्रसारण लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अबको १ महिनामा निर्माण सम्पन्न हुने प्राधिकरणले जनाएको छ । यसको निर्माण प्रक्रियासँगै भारतमा विद्युत व्यापारमा सहजता आउने प्राधिकरणको दाबी छ । राजधानी दैनिकबाट