१ लाख ६० हजार खरको छाना फेरिँदै

रिपोर्ट नेपाल | 2020 Aug 24 | 07:20 am 2420

काठमाडाैं, भदाै ८ः सरकारले देशभरका १ लाख ६० हजार फुसको छानो विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरेको छ । फुस तथा खरको छानो भएको घरमा आगलागी हुने जोखिम उच्च हुने र ठूलो जनधनको क्षति हुने निष्कर्ष निकाल्दै सरकारले खरको छाना विस्थापित गरेर जस्तापाताको छानो हाल्ने कार्यक्रम अगाडि बढाएको हो ।

यसअघि थोरै मात्र संख्यामा खरको छानो विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरे पनि सरकारले यस आर्थिक वर्ष २०७७/०७८ मा भने १ लाख ५० हजार फुसको छानो विस्थापित गरेर जस्ताको छानो हाल्ने भएको छ । शहरी विकास मन्त्रालयअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम अगाडि बढाएको छ ।

देशको ७७ वटै जिल्लाको स्थानीय तहमा सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन भएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । उनले भने– ‘कार्यक्रमलाई पारदर्शी बनाउन दुईवटा समिति गठन भएको छ, कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएका छौं, समन्वयको काम विभागले गरिरहेको छ ।’

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको आवास महाशाखाका प्रमुख चक्रवर्ती कण्ठले देशभर रहेका फुस र खरको छानो विस्थापित गरेर जस्तापाता राख्ने गरी सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन भइरहेको बताए। सरकारले २०६६/०६७ बाट जनता आवास कार्यक्रम शुरु गरेको थियो । तर सरकारले २०७५/०७६ मा जनता आवास कार्यक्रमलाई प्रदेश सरकारले कार्यान्वयन गर्ने गरी संघका तर्फबाट सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गरेको थियो ।

सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन गर्न विभागले कार्यविधि बनाउन केही समय लगाएको कारण गत आर्थिक वर्षसम्म २० हजार छानो फेर्ने कार्यक्रमअन्तर्गत ९ हजार ६ सय २९ वटा घरको छानो फर्ने कार्यक्रम सम्पन्न भइसकेको छ । बाँकी रहेको ११ हजार खरको छानो फर्ने कार्यक्रमलाई नै निरन्तरता दिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.