१४ प्रतिशत भूकम्प पीडितले मात्र घर निर्माण सम्पन्न गरें

रिपोर्ट नेपाल | 2018 Jul 02 | 06:33 pm 4100

ललितपुर, १८ असार : भूकम्प पीडितमध्ये ललितपुरमा १४ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकम बुझेका छन् ।

अहिलेसम्म सरकार र गैरसरकारी संस्थाबाट कुल तीन हजार ३६३ जनाले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता वापतको रकम बुझेको भूकम्पीय घर पुनःनिर्माण परियोजना, जिल्ला कार्यान्वयन इकाइ ललितपुरले जनाएको छ ।

पहिलो किस्तावापतको रकम लिनेभन्दा भन्दा दोस्रो किस्ता लिने लाभग्राहीको संख्या न्यून छ । त्यसमा पनि तेस्रो किस्ता लिने लाभग्राहीको संख्या सबैभन्दा न्यून रहेको इकाइका सूचना प्रणाली व्यवस्थापन विज्ञ राकेश महर्जनले बताए।

भूकम्प पीडितमध्ये यो वर्ष ५० प्रतिशतको घर निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएपनि त्यो भन्दा धेरै कमले मात्रै घर निर्माण सम्पन्न गरेको इकाइले जनाएको छ । जिल्लामा अहिलेसम्म अनुदान सम्झौता गरेकामध्ये ९८ प्रतिशतले मात्र पहिलो किस्ता र २८ प्रतिशतले दोस्रो किस्तावापतको रकम लिएका छन् ।

घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने लाभग्राहीको संख्या भन्दा सम्पन्न गरेर तेस्रो किस्ता लिनेको संख्या झन्डै आधा रहेको सूचना प्रणाली व्यवस्थापन विज्ञ महर्जनले बताउनुभयो । उनले भने, “घर बनाउन कामदार नपाइने र नक्सापास गर्न नगरपालिकामा समय लाग्ने हुँदा पनि धेरै लाभग्राहीले घर निर्माण शुरु गरे पनि सम्पन्न गर्न पाएका छैनन् ।”

‘पहिलो किस्ता लिएको लामो समय बित्दा पनि कतिपयले घर निर्माण शुरु गरेका छैनन्,’ सूचना प्रणाली व्यवस्थापन विज्ञ महर्जनले भने, ‘ श्रीमान् विदेश भएका कारण कतिपय महिलाले घर निर्माण शुरु गर्न सकेका छैनन् भो कतिपयको जग्गा गुठीका नाममा हुँदा र कतिपयको ऐलानी जग्गा हुँदा घर निर्माण शुरु गर्न सकेका छैनन् ।’

सरकारले भूकम्प आउनुभन्दा पहिले अंशबण्डा भइसकेर पनि एउटै घरभित्र बसोवास गर्दै आएका दाजुभाइलाई छुट्टा/छुट्टै लाभग्राहीका रुपमा अनुदान सम्झौता गरेको थियो । तीमध्ये पनि धेरैले घर निर्माण शुरु गर्न सकेका छैनन् ।

उनले भने, “शुरुमा उनीहरुले एउटै घर देखाएर अनुदान सम्झौता त गरे तर जग्गा नहुँदा अनुदानको रकम लिएर घर निर्माण शुरु गर्न सकेका छैनन् ।” कतिपय लाभग्राहीले पारिवारिक र कतिपयले कानूनी झन्झटका कारण घर निर्माण सम्पन्न नगरेको सूचना प्रणाली व्यवस्थापन विज्ञ महर्जनको भनाई छ ।

सम्झौता भएपछि घर निर्माण शुरु गर्नका लागि अधिकांशले पहिलो किस्ता वापतका रकम लिएर गएका छन् । पहिलो किस्ता लिएकाले डिपिसी गरेपछि मात्रै दोस्रो किस्ताबापतको रकम पाउने व्यवस्था छ । उनले भने,, “कतिपयले त पहिलो किस्ता लिएर पनि घर बनाउन नचाहने पनि छन् ।” पाएको बेलामा पहिलो किस्ताबापतको रकम रु ५० हजार लिए पनि घर बनाउनै नचाहने लाभग्राही पनि देखिएका छन् ।

भूकम्पपछिको दुई वर्षभन्दा पनि चालु आर्थिक वर्षमा केही प्रगति देखिएको छ, इञ्जिनियर संगिता थापाले बताए । असार मसान्तसम्म दोस्रो र पुस मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने व्यवस्थाका कारण पनि कतिपयले घर बनाउन हतारिएका छन्,उनले भने, “तोकिएको समयमा निर्माण नसके अब म्याद नथपिएला भन्ने धेरैको सोचाई छ, पटक÷पटक म्याद थपिएकाले फेरि म्याद थपिएला भने पनि कतिपयको सोचाई छ ।”

स्थानीय तहमा अहिले नक्सा पास गर्ने सेवाग्राहीको भीड छ । लामो समयदेखि नक्सा प्रक्रियामै अड्किएका कारण कतिपयले घर निर्माण अघि बढाउन सकेका छैनन् । नगर क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा निर्माण सामग्री र कामदार दुबैको समस्या कम हुँदा त्यहाँ घर निर्माणमा प्रगति पाइएको हो ।

साविक ललितपुर उपमहानगरापलिकामा कुल पाँच हजार एक सय ७९ लाभग्राहीमध्ये २९० जनाले मात्र तेस्रो किस्ता बापतको रकम बुझेका छन् । जिल्लामा कुल २७ हजार ७१८ भूकम्प पीडित लाभग्राही छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.