१२ देश सम्मिलित ‘कोलम्बो प्रोसेस’को बैठक काठमाडौंमा सुरु

| 2018 Nov 15 | 02:56 pm 1345

काठमाडौँ, कात्तिक २९ : वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा फोरम ‘कोलम्बो प्रोसेस’को छैटौं बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। काठमाडौंको होटल सोल्टीमा आज सचिवस्तरीय बैठक सुरु भएको हो।

बैठकको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारदाता देशले कामदार आपूर्ति गर्ने देशको समस्या बुझ्नुपर्ने बताए। बैठकमा सहभागी देशले रोजगारीका नाममा हुने मानव तस्करी रोक्न संयुक्त प्रयास थाल्नुपर्नेमा जोड दिए। त्यसका लागि प्रहरीसँग समन्वय गर्न सकिने पनि उनको भनाइ छ।

भोलि हुने मन्त्रीस्तरीय बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। रोजगारदाता मुलुकमा आफ्ना देशका कामदारलाई समान व्यवहारका लागि आवाज उठाउने उद्देश्यले प्रोसेसको गठन भएको हो। सो फोरमको अध्यक्षता हाल नेपालले नै गरिरहेको छ।

वैदेशिक रोजगारीमा कामदार पठाउने नेपालसहित चीन, भारत, कम्बोडिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम गरी १२ देश प्रोसेसका सदस्य राष्ट्र हुन्। यो फोरमले ग्लोबल कम्प्याट माइग्रेशनसँग समन्वय गरी काम गर्दै आएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.