११ वाणिज्य बैंकको लाभांश घोषणा

रिपोर्ट नेपाल | 2022 Nov 21 | 07:35 am 129

काठमाडौं, मंसिर ५ः हालसम्ममा ११ ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरिएका बैंकमध्ये बैंक अफ काठमाण्डूले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । बीओकेले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश २०.९५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैंकले गत वर्ष १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश घोषणा गरको थियो ।

यसैगरी एभरेस्ट बैंकले गत आर्थिक वर्ष २०७८-७९ को नाफाबाट सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८-७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । धेरै लाभांश दिने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक तेस्रो स्थानमा देखिएको छ ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत वर्ष १० प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७८-७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । २०७८-७९ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (३ प्रतिशत बोनस सेयर र करसहित १०.६ प्रतिशत नगद लाभांश) घोषणा गरेको हो ।

कुमारी बैंकले भने चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसैगरी, एनसीसी बैंकले पनि हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो । सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सिटिजन्स बैंकको १६औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८-७९ को नाफाबाट चुक्ता पुँजीको सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने पारित गरिसकेको छ । यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि आफ्ना सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ । आगामी साधारण सभाले ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्दै छ ।

मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय बैंकको सञ्चालक समितिको बैंठकले गरेको हो । इन्भेस्टमेन्टले अहिले दिन लागेको लाभांश गत वर्षको भन्दा कम हो ।

अघिल्लो वर्ष इन्भेस्टमेन्टले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो । इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जान लागेको मेगाले पनि गत वर्षको भन्दा कम लाभांश दिँदै छ । मेगाले गत वर्षको नाफाबाट सेयरधनीलाई कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । बैंकले ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश दिँदै छ । गत वर्ष मेगाले १२.०७ प्रतिशत बोनस सेयर दिएको थियो ।

मर्जरको प्रक्रियामा रहेको मोगाको सेयर कारोबार शुक्रबारबाट खुला भएको छ । प्रभु बैंकले ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रभुको दोस्रो बजारमा १२ करोड ७० लाख ८७ हजार कित्ता सेयर सूचीकृत छ । प्रभु बैंक र सेन्चुरी बैंक एक आपसमा गाभिन लागि नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाइसकेका छन् । स्ट्यान्डर्ड चार्टड बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश दिँदै छ । अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा भने स्ट्यान्डर्डले १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश दिएको थियो । यसको ९ करोड ४२ लाख ९४ हजार कित्ता सेयर धितोपत्र बजारमा सूचीकृत छ ।

लाभांश घोषणा गरेका ११ वटा बैंकमध्ये ४ वटाले वार्षिक साधारणसभाको डाकेका छन् । बाँकी ४ वटा वाणिज्य बैंकले भने लाभांश घोषणा गरे पनि वार्षिक साधारणसभाको मिति तय गरिसकेका छैनन् । वार्षिक साधारणसभा गरिसकेका बैंकमा सिटिजन्स बैंक, कुमारी बैंक र एनसीसी बैंक छन् ।

त्यस्तै, वार्षिक साधारणसभा तय गरेका बैंकमा ग्लोबल आईएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेस्ट बैंक र सानिमा बैंक छन् । वार्षिक साधारणसभाको मिति तय गर्न बाँकी बैंकमा भने बैंक अफ काठमाण्डू, मेगा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र प्रभु बैंक छन् । गत आर्थिक वर्षका लागि २० प्रतिशतको हाराहारीमा लाभांश घोषणा गर्ने बैंकमा एभरेस्ट बैंक र बैंक अफ काठमाण्डू छन् ।

यी दुवैले क्रमशः कुल २०.६८ प्रतिशत र २०.९५ प्रतिशत लाभांश घोषणा गरेका छन् । यसैगरी, १० प्रतिशतको हाराहारीमा लाभांश घोषणा गर्नेमा ६ वटा बैंक छन् भने ३ वटा बैंकको लाभांश दर १० प्रतिशतभन्दा मुनि रहेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.