११ अर्ब सकियो, पूर्ण साक्षर हुन सकेन

| 2023 Jan 22 | 08:12 am 149

काठमाडौं, माघ ८ः १४ वर्षमा पूर्ण साक्षर हुन नसकेको अवस्थामा अबको दुई वर्षमा साक्षर गर्ने सरकारको योजना सफल हुन सक्दैन । सरकारले २०६५ सालबाट साक्षरता अभियान शुरू गरेको थियो । हालसम्म करिब ११ अर्ब रुपियाँ खर्च भइसक्दा पनि मुलुक पूर्ण साक्षर हुन सकेको छैन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले जारी गरेको साझा नीति तथा कार्यक्रममा अबको दुई वर्षभित्र मुलुक पूर्ण रूपमा साक्षर गर्ने उल्लेख छ । सरकारले सन् २०१५ सम्ममा देशलाई पूर्णसाक्षर घोषणा गर्ने भनी अन्तर्राष्ट्रिय रूपमा लिखित प्रतिबद्धता जनाएको थियो ।

२०६५ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले दुई वर्षभित्र देशबाट निरक्षरता उन्मूलन गर्ने घोषणा गरेको थियो । सो घोषणा हालसम्म कार्यान्वयन भएको छैन । हालसम्म १५ जिल्ला अझै साक्षर हुन सकेका छैनन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार पछिल्लो समयमा कञ्चनपुर साक्षर भइसकेको छ ।

अब १५ जिल्ला साक्षर हुन बाँकी छन् । त्यसमा मधेस प्रदेश प्रदेशका ८, कर्णालीका ५, सुदूरपश्चिम र लुम्बिनीका १–१ जिल्ला रहेका छन् । अभियान शुरू भएको १४ वर्ष पुग्यो मधेस प्रदेशको एउटा जिल्ला पनि साक्षर हुन सकेको छैन ।

सरकारले तामझामका साथ करिब ७८ लाख निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्यसहित आर्थिक वर्ष ०६५–०६६ नेपालमा साक्षरता अभियान शुरू गरेको थियो । त्यतिबेलै दुई वर्षभित्र निरक्षर उन्मूलन गर्ने घोषणा भएको थियो । त्यसपछिका करिब १४ वर्षसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साक्षरता कार्यक्रम सञ्चालन गर्न वर्षेनी करिब १ करोड रुपियाँ विनियोजन गर्ने गरेको छ ।

आव २०६५–६६ देखि अनौपचारिक शिक्षा केन्द्रमार्फत राष्ट्रिय साक्षरता अभियान, आव २०६९–७० देखि साक्षर नेपाल अभियानलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल शिक्षा तथा मानव स्रोत केन्द्रले स्थानीय तहलाई बजेट उपलब्ध गराएर साक्षरता कार्यक्रम जारी राखेको छ । केन्द्रका महानिर्देशक पौडेलले सरकारको साझा कार्यक्रमअनुसार साक्षरता कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिने बताए ।

उनले भने– ‘अब साक्षर नभएको जिल्लालाई सघन कार्यक्रम सञ्चालन गरेर भए पनि निरक्षर उन्मूलन गर्ने योजना बनाएका छौं ।’ उनले साक्षरता कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने बताउँदै हालसम्म सरकारले गरेको खर्च उपलब्धिमूलक रहेको दाबी गरे । भने– ‘खर्च भएअनुसार साक्षरताको संख्या बढ्दै गएको छ । अब कार्यक्रमलाई अझै व्यापक बनाउनेछौं ।’

आर्थिक सर्वेक्षणअनुसार ५ वर्ष माथिकाको साक्षरता प्रतिशत ७८ प्रतिशत छ । १५ वर्षभन्दा माथि उमेर समूहका ५८ प्रतिशत साक्षर छन् । पछिल्लो अवस्था हेर्दा देशका ६२ जिल्ला साक्षर घोषणा हुँदा मधेस प्रदेश साक्षरताको अवस्था शून्य छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.