१० रुपैयाँ बचतले ल्याएको परिवर्तन

रिपोर्ट नेपाल | 2018 Sep 09 | 08:02 am 3426

धादिङ, भदौ २४: गरे जे पनि हुन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् धादिङको गजुरी गाउँपालिका–५ स्थित राई गाउँका महिलाहरू । ऋण काढेर गर्जो टार्ने समस्या अब उनीहरूसँग छैन । आत्मनिर्भर बन्न सहुलियत ऋणमा व्यावसायतिर मात्र उन्मुख छैनन्, गाउँको विकासकै लागि अग्रसर हुन थालेका छन् ।

सीता राईले आफूसँग भएको केही रकम निरन्तर समूहमा बचत थालिन् । र, केही समयपछि ५० हजार ऋण लिएर किराना पसल थालिन् । उनको किराना पसल राम्रोसँग चलेको छ । साथै उनी ग्रामीण विकासका अन्य काममा पनि सक्रिय भएको खबर राजधानी दैनिकमा अर्जुन श्रेष्ठले लेखेका छन्।

बालकुमारी सामाजिक परिवार समूहकी सदस्य सीतालाई घर खर्च चलाउन समस्या छैन । उनीजस्ता थुप्रै महिला बचतपछि आत्मनिर्भर बनेका छन् । दैनिकी फेरिएको छ । ममता राईले समुदायमा परिवर्तन देखिन थालेको बताइन् । गाउँमै व्यवसाय गरेर आत्मनिर्भर बनेका महिला दिदीबहिनी नेतृत्व विकास तथा विकास निर्माणका काममा पनि उत्तिकै सहभागी बन्न उत्साहित बनाएको उनको अनुभव छ । भन्छिन्, ‘स्वरोजगारको अवसर मात्र मिलेको छैन, विकास निर्माणमा सहभागितासहित चेतनाका काममा पनि अग्रसर हुन सजिलो भएको छ ।’

समुदायका निरक्षर ‘राई’ महिला साक्षर हुन थालेका छन् । समूहमा बसेपछि उनीहरू स्थानीय निकायले प्रदान गर्ने सेवासुविधाबारे सजग छन् । पहिले घर व्यवहार, औषधि उपचार गर्नका लागि महँगो ब्याजमा ऋण लिएर तिर्न सकस भएको पीडा सम्झिन चाहँदैनन् उनीहरू । भन्छन्, ‘बिनाधितो ऋण पाउने भएपछि व्यवसाय चलाउनका लागि सहज भएको छ ।’

केही वर्षअघिसम्म गाउँमा नयाँ मान्छे देख्दा बोल्न त के नजिकै आउन पनि डराउने उनीहरू निर्धक्क साथ आफ्नो परिचय दिन सक्ने मात्रै भएका छैनन्, गाउँमा आइपर्ने समस्याहरू समाधानका लागि पहल गर्न सक्ने भएका छन् । राईगाउँका १४० घर परिवारका महिला अहिले सक्रिय छन् । ‘समूहको बैठकले हामीलाई स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाबारे पनि उत्तिकै चेतनशील बनाएको छ,’ सीताले भनिन् ।

पिछडिएका राई महिलालाई सक्षम बनाएर समाजमा परिवर्तन देखिने खालका काम गराउन सामाजिक परिवार सफल हुँदै गएको समग्र विकास सेवा केन्द्र धादिङका जिल्ला संयोजक रुद्र कोइरालाले बताए । बचत समूहमा मासिक रूपमा १० रुपैयाँबाट सुरु गरेको बचत बढेर अहिले एउटा समूहमा २ लाख नाघिसकेको समूहकी अध्यक्ष फुलमाया राई बताउँछिन् । संस्थामा बचत गर्दै आएका मध्ये कसैलाई पैसाको आवश्यक परेमा समूहबाट एकपटकमा एक जनालाई ५० हजार रुपैयाँसम्म ऋण दिन सक्ने भएको उनी बताउँछिन् ।

समूहमा बचत गरेको रकम ऋणमा निकालेर तरकारी खेती र ब्रोइलर कुखुरा पालन, किराना पसल, खाजाघर सञ्चालन गरेर आम्दानीको स्रोत जुटाउनेतर्फ स्थानीय महिला लागि परेका छन् । यहाँका महिलाले समूहबाट पैसा लिएर बाख्रापालन, बंगुरपालन, कुखुरापालन मात्र गरेका छैनन् घुम्ती पसल र तरकारी खेती पनि गरिरहेको समूहकी अगुवा सीताले बताइन् ।

उनीहरूले गाउँलाई सरसफाइयुक्त पनि बनाएका छन् । नुवाकोटको चारघरेबाट विवाह गरेर राईगाउँ आएकी ममतालाई खुला ठाउँमा शौच गर्नुपर्दा त्यतिबेला आफूले सबैभन्दा ठूलो पीडा भोगेको उनी बताउँछिन् । अहिले आएको परिवर्तनले उनी आफैं पनि दंग छिन् ।

राजमार्गको नजिकै रहेर पनि निकै पिछडिएको बस्तीका रूपमा चिनिएको राईगाउँमा अहिले सबै घरमा शौचालय बनेर प्रयोगमा आएको, बालबालिका नियमित विद्यालय जाने गरेको, महिलाहरू मासिक रूपमा समूहमा बसेर गाउँबस्तीको बारेमा छलफल गर्न सक्ने पनि भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.