काठमाडौं, ३ असार : पछिल्लो समय नेपालमा चीनको लगानी उल्लेखनीय रूपमा बढ्दै गएको छ । नेपालको उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको हो ।
उद्योग विभागका अनुसार हालसम्म नेपालमा २ खर्ब ६२ अर्ब ८१ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । यसमध्ये करिब ४० प्रतिशत लगानी हिस्सा चीनको छ । हालसम्म चीन (हङकङ र ताइवानसमेत)ले नेपालमा १ खर्ब ५ अर्ब ७६ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरेको छ । जब कि भारतको लगानी प्रतिबद्धता ८६ अर्ब ८६ करोड रुपैयाँ रहेको विभागको तथ्यांक छ ।
चालू आर्थिक वर्षको १० महिनामा नेपालमा ४९ अर्ब ८७ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । विभागमा आएको लगानी प्रतिबद्धतामा चिनियाँ हिस्सा झन्डै ९० प्रतिशत रहेको छ । अर्थात् उक्त १० महिनामा चीनले नेपालमा ४३ अर्ब १० करोड रुपैयाँबराबरको लगानी गर्ने प्रतिबद्धता गरेको हो ।
निजी क्षेत्रस्तरमा ४० अर्बको संयुक्त लगानी सम्झौता हुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा नेपालको दुई मुलुकको निजी क्षेत्रबीच नेपालमा ४० अर्ब रुपैयाँ लगानी गर्नेबारे समझदारी हुने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको अवसर पारेर कम्तीमा तीनवटा जलविद्युत् परियोजनामा संयुक्त लगानी गर्ने गरी समझदारी हुने निश्चित भएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।
‘नेपालमा ठूलो लगानी गर्न चिनियाँहरू इच्छुक देखिएका छन्, जलविद्युत्लगायत क्षेत्रमा चिनियाँ लगानी ओइरिँदै छ,’ उनले भने, ‘सरकारले अनुकूल वातावरण बनाउनुका साथै सहजीकरण गरेर लगानी भित्र्याउनुपर्छ ।’ उक्त तीनवटा परियोजनाबाहेक पनि सिमेन्टलगायत अन्य उद्योगमा समेत संयुक्त लगानीको सम्झौता हुन सक्ने उनले बताए । आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।