काठमाडौं, साउन २५ : महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले होस्टलका विद्यार्थीको बेडमुनिबाट गाँजा र तास बरामद गरेको छ । जनप्रतिनिधि, होस्टल एसोसिएसन, प्रहरी लगायतको टोलीले सुरु गरेको अनुगमनका क्रममा बिहीबार ‘अल्फा ब्वाइज होस्टल’का विद्यार्थीको कोठाबाट गाँजा र तास बरामद गरेको हो ।
बानेश्वर वृत्तका डिएसपी गोविन्दराज काफ्लेका अनुसार अनुगमनकर्ताको टोलीले होस्टलमा पुग्दा विद्यार्थीहरूले तास खेली रहेको र अनुगमन टोलीलाई देखेपछि उनीहरू तास लुकाए थिए । ‘प्रहरीको टोली कोठाभित्र प्रवेश गरेर हेर्दा तासको बुक फेला पर्यो, कोठामा चेकजाँज गर्दै जाँदा विद्यार्थीको पलङ मुनिको ड्रयरभित्र एउटा कागजको पोको फेला पर्यो ।’ डिएसपी काफ्लेले रिपोर्ट नेपाललाई भने, ‘सुरुमा त कागज च्यातेर फालेको हो कि भन्ने लागेको थियो तर, त्यहाँ त गाँजा पो रहेछ ।’

केहीवेरमा होस्टल सञ्चालक सुराबहादुर खाम्चा (सीबी) र उनकी श्रीमती सुशीला आइपुगे । तर उनीहरूले आफूहरू होस्टलमा भइरहेको गतिविधिबारे अनविज्ञ रहेको बताए ।
अनुगमन टोलीले सञ्चालकलाई प्रहरी वृत्तसम्मै पुर्याए पनि सुधार गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूलाई छाडेको र, आइन्दा यस्तो प्रकृतिका गतिविधि भेटिए कडा कारबाही हुने कागज गराएको डिएसपी काफ्लेले बताए ।
कसरी पत्ता लागे ?
बुधबार लागू औषध ‘गाँजा’ बिक्री गर्दै गरेको’ अवस्थामा शान्तिनगरबाट सरोज लामालाई महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले पक्राउ गरेको थियो । वयानमा उनले आफ्नो सेवाग्राही बानेश्वर क्षेत्रका विभिन्न होस्टलहरुमा बस्ने विद्यार्थीदेखि कलेजमा पढ्नेसम्म भएको बताएका थिए ।

लामाको बयानबाट होस्टलमा बस्ने विद्यार्थीलाई गाँजा सप्लाई हुने गरेको पुष्टि भएपछि बानेश्वर वृत्तका डिएसपी काफ्लेले नेपाल होस्टल एसोसिएसनसँग समन्वय गरेर अनुगमन गर्ने तयारी थाले । सोही अनुसार बिहीबार प्रहरीले होेस्टलमा छापा मारी खोजतलास गर्दा गाँजा र तास बरामद गर्न सफल भयो ।
यसअघि पनि बानेश्वर क्षेत्रमा प्रहरीले आयोजना गरेको ‘टोलटोलमा प्रहरी’ कार्यक्रममा होस्टलमा बस्नेहरूले गाँजाको प्रयोग गर्ने र होहल्ला गर्ने गुनासो आउने गरेको डिएसपी काफ्लेले बताए । तर, प्रहरीले प्रमाण हात पारिसकेको थिएन ।