हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका दिवंगत सातैजनामाथि श्रद्धाञ्जली अर्पण

| 2019 Mar 01 | 03:29 pm 2049

 काठमाडाैँ, फागुन १७ :  बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर टुँडिखेलमा राखिएकाे छ । अन्तिम श्रद्धाञ्जलीका लागि सबैकाे शव एकै ठाउँ राखिएकाे हाे ।

दिवंगत मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठलगायतमाथि विशिष्ट व्यक्तिहरुकाे उपस्थितिमा सामूहिक श्रद्धाञ्जली अर्पण गरिएकाे छ ।

प्रधानमन्त्री केपी शार्मा ओलीले सातैजनालाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । यसैगरी राष्ट्रपति विद्या देवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले समेत सातैजनाकाे पार्थिव शरीरमाथि फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवंगत मन्त्री एवं नेकपाका सांसद एव‌ं केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री अधिकारीकाे पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जी अर्पण गरेका छन् । साथै मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

साे श्रद्धाञ्जली समाराेहमा पूर्व प्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपाल, पूर्व सभामुख सुवास नेम्वाङ, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा नेता घनस्याम भुसाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेललगायत नेता, कार्यकर्ता, शुभचिन्तक लगायत विशिष्ट व्यक्तिहरु उपस्थित भई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बिहीबार गर्ने भनिएको श्रद्धान्जली कार्यक्रम घटनास्थलबाट शव काठमाडाैँ ढिलाइ हुँदा र शव पहिचानमा समेत ढिलाइ हुँदा कार्यक्रम आजका लागि सारिएकाे थियाे । अन्तिम श्रद्धाञ्जलिपछि मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लगिने राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएकाे छ ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.