हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

| 2022 Jul 30 | 06:18 pm 1453

दार्चुला, साउन १४ः दार्चुलाको लेकम गाउँपालिकाबाट एक जना सुत्केरी महिला र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लेकम गाउँपालिका –२ गराडी भाटाइजर बस्ने ३० वर्षिया काली सार्कीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

लेकम गाउँपालिका –२ सर्मोली गराडी स्वास्थ्यचौकीमा सुत्केरी भई कम तौलको बच्चा जन्मिएको तथा आमाको स्वास्थ्य अवस्था नाजुक रहेकाले सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । ७०० ग्राम तौल भएको बच्चा र आमाको उपचारका लागि उनलाई सुर्खेत पठाइएको प्रजिअ उपाध्यायले बताए ।

गराडी स्वास्थ्यचौकीका निमित्त प्रमुख अहेब गणेश भट्टका अनुसार सुत्केरी महिला अपाङ्ग र कम तौल र उचाइको छन् । दुई हप्ता पहिले गोकुलेश्वर अस्पतालबाट उपचारका लागि काली सार्कीलाई डडेल्धुरा अस्पताल पठाइएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण घर फर्किएका सार्की दम्पत्ति शनिबार बिहान डेढ बजे गराडी स्वास्थ्यचौकी पुगेका थिए ।

३४ किलोग्राम तौल र १२५ सेन्टिमिटर उचाइ रहेका गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल देखिएपछि उद्धारका लागि लेकम गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको अहेब भट्टले बताए । शनिबार दिउँसो १२ बजेर ६ मिनेटमा महिलाले कम तौलको बच्चा पाएपछि लेकम गाउँपालिका र दार्चुला प्रशासनको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको लेकम गाउँपालिका स्वास्थ्य शाखा संयोजक अम्बादत्त जोशीले बताए ।

श्रीमान देबराम सार्की, सुत्केरी महिला काली सार्की र नवजात शिशुलाई हेलिकप्टरमार्फत दिउँसो सवा २ बजे सुर्खेत अस्पताल पठाइएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.