हिमाली र पहाडी भागमा वर्षाको सम्भावना

रिपोर्ट नेपाल | 2026 Jun 07 | 10:54 am 109

काठमाडौँ ,जेठ २४ / जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित बाँकी हिमाली भागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा अनपेक्षित रूपमा तापक्रम बढ्ने सम्भावना छ ।

आज राति कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेश र बाँकी पहाडी भागमा आंशिक बदली रहनेछ । तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशका केही तथा मधेससहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.