बझाङ ।
घटना १
सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा गत ९ वैशाखमा छोराछोरीसहित यार्सा टिप्न ‘पार्थी’ पुगेकी थिइन् । उनको सपना थियो, ‘घरको सानोतिनो ऋण तिर्ने, छोराछोरीको पढाइ खर्च र वर्षभर पुग्ने एकछाकको जोहो गर्ने ।’
लेक गएको केही दिन नबित्दै वर्षासँगै हिमपात सुरु भएपछि सँगै गएका छिमेकी घर फर्कने निधोमा पुगिन् । तीन महिना खान लिएर गएको अन्न लेकमै छोडेर झल्लादेवी दुई बच्चासहित घर हिँडिन् ।
त्यस क्रममा १६ वैशाखमा हिमपहिरोमा परेर बेपत्ता भइन् । तीन दिनपछि उनको लास भेटियो । उनका सपना हिउँसँग लेकमै विलय भए । झल्लादेवीका श्रीमान् भारतमा रोजगारी गर्न गएका छन् । ५ र ६ वर्षका छोराछोरी विचल्लीमा परेका छन् ।
घटना २
सुर्मा गाउँपालिका–५ का ४२ वर्षीय कलक बोहराका दुई छोरा एक छोरी छन् । घरमा वृद्धावस्थाका बुबाआमा मात्रै छन् । १२ र १३ वर्षका छोराछोरीनजिकैको सामुदायिक विद्यालयमा अध्यनरत छन् । आम्दानीको स्रोत केही छैन ।
वर्षमा एकपटक यार्सा संकलन गरेर वर्षभर एकछाक खाना जोहो गर्नुका साथै कलकले छोराछोरीको पढाइ र घरायसी खर्च जोहो गर्दै आएका थिए । विगतजस्तै यस वर्ष पनि उनले वर्षभर एकछाक खानका लागि लिएको अन्नको पैसा तिर्ने, बाँकी अन्न बचाउने, छोराछोरीको पढाइ खर्चलगायत जोहो गर्ने सपना देखेर कलक वैशाख पहिलो साता लेकतर्फ लागे । उनीसँगै छोराछोरी, श्रीमती पनि लेक हिँडे ।
सबै परिवार मिलेर संकलन गरेको यार्सा बिक्री गरेर ‘नयाँ लुगा कपडा खरिद गर्नुका साथै मिठो खाने’ सपना थियो उनीहरूको । तर, यी सपना सपनामै सीमित रहे । ती सपनासँगै आफन्तसमेत लेकमै विलय भए । हिमपात भएपछि घर फर्कने क्रममा बाटैमा चिसोले कठ्यांग्रिएर तितापानीमा वैशाख दोस्रो साता मृत्यु भयो ।
घटना ३
चिसोले नै कठ्यांग्रिएर वडा ४ का २४ वर्षीय पर्म बोहराको समेत निधन भयो । उनको घरमा पनि उस्तै बिचल्ली छ । एक छोरा, एक छोरी, श्रीमती बुबाआमा घरमा छन् । परिवारको सबै जिम्मेवारी उनकै काँधमा थियो ।
खेतबारीको काम गरेर तीन महिनासमेत खान नपुग्ने भएका कारण तीन महिला घरमा ताला लगाएर गाउँ नै खाली गरेर यार्सा संकलन गर्न लेक जाने गरिन्छ । घरबाट यार्सा संकलन गर्न लेक जानेबेला उनीहरूका घरमा रुवाबासीसमेत हुनेगर्छ । ‘लेकबाट फर्कने कि उतै विलय हुने ?’ ज्यानको टुंगो हुँदैन । यार्सा संकलन गर्न लेक जानु ‘जीवनको अन्तिम दिन’सरह हुन्छ ।
१ वडाध्यक्ष दिनेशबहादुर बोहरा ‘सुर्मादेवी माताको हातमा ज्यान सुम्पेर यार्सा संकलन गर्नुपर्ने’ बाध्यता रहेको बताउँछन् । वर्षको तीन महिना वैशाखदेखि असार अन्तिमसम्म यार्सा संकलन गर्ने समय हो । तर, वार्षिक चार÷पाँच जना कोही हिमपहिरोमा परेर, कोही लडेर, कोहीको लेकमै बिरामी परेर बाटोमै मृत्यु हुने गरेको छ ।
वडाध्यक्ष बोहराका अनुसार सुर्मा गाउँपालिकाका मात्रै प्रेम बोहरा, कलक बोहरा, सञ्जय पुजारा, कुवेर पुजारा, भानुभक्त पुजारा, रमेश बोहरा, जहरी बोहरा, धउले बोहरा, देवीलाल बोहरा, नन्दगिरी बोहरा, इन्द्र बोहरा, सिरीमा बोहरा, सम्झना बोहरा, हिक्मत बोहरा, सत्यराज बोहरा, गोरख विक, रामकोइला बोहरालगायतले लेकमै ज्यान गुमाएका छन् ।
उता, जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले यस वर्ष सुर्मा गाउँपालिकामा सात जना यार्सा संकलकको मृत्यु भएको जानकारी दिए । उनका अनुसार जयपृथ्वी नगरपालिका दुई गरी सात जनाको मृत्यु भएको हो ।
‘जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा सुर्मा गाउँपालिकाको मात्रै मृत्यु भएको विवरण देखिन्छ, कतिपय अवस्थामा प्रहरीलाई जानकारीसम्म हुन्न,’ उनले भने, ‘लडेर हिमपहिरोमा बेपत्ता भएपछि र अप्ठ्यारो परिस्थितिमा मात्रै प्रहरीलाई खबर आउने गरेको छ, नभए स्थानीयले नै लास खोजेर दाहसंस्कार गर्ने गरेको पाइन्छ ।’
यस वर्ष एकै घरमा दिदीबहिनीको मृत्युसमेत भएको छ । जयपृथ्वी नगरपालिका–११ का १४ वर्षीया जामती धामी र १६ वर्षीया रमिता धामीको मृत्यु भएको हो । प्रहरी निरीक्षक अवस्थीले साइपाल गाउँपालिका र बुंगल नगरपालिकाको रिपोर्ट प्रहरीलाई नआउने गरेको पनि बताए ।
सुर्मा गाउँपालिकामा ११ हजार जनसंख्या छ । यीमध्ये हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक र भर्खर सुत्केरी भएका तथा एक डेढ वर्षका बालबालिकाबाहेक सबै लेकतिर जाने गरेको सुर्मा गाउँपालिका अध्यक्ष खडकबहादुर बोहराले बताए ।
‘यहाँका नागरिकको जीविकोपार्जनको मुख्य आयस्रोत भनेकै यार्सागुम्बा संकलन हो, ज्यानकै जोखिम राखेर संकलन गरेको यार्सागुम्बा संकलकले मूल्य पाउँदैनन्,’ उनले भने, ‘बिचौलियाको हालीमुहाली चल्छ । सरकारले यार्साको मूल्य निर्धारण गरेको भए सबै जानकारी पाउने थिए । यसमा सरकार चुकेको छु ।’
यार्सा संकलकको जीवलशैलीमा अहिलेसम्म कुनै परिवर्तन भएको छैन । उनीहरूको अवस्था उस्तै छ । तर, यसका बिचौलियाको जीवनशैलीमा निकै परिवर्तन पाएको अध्यक्ष बोहरा सुनाउँछन् । यार्सा संकलन क्रममा मृत्यु भएकालाई पालिकाले किरिया खर्चस्वरूप ४० देखि ५० हजारसम्म उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।
यहाँका नागरिकले खेती–किसानी गर्नसमेत छोडेर यार्साकै भर पर्ने गरेको बोहराले बताए । उनका अनुसार खेती–किसानीको काम गर्न छोडेकालाई पालिकाले रैथाने बाली संरक्षण गर्न ‘अनुदान कार्यक्रम’ लागू गरी किसानलाई खेती गर्न उत्प्रेरण दिने योजना ल्याइएको छ । (राजधानीबाट )