हिउँद र बर्षा दुबै समय सिँचाइ आयोजना सञ्चालन गर्नुपर्छ: अध्यक्ष दाहाल

रिपोर्ट नेपाल | 2018 Aug 29 | 06:32 pm 2080

चितवन, भदौ १३: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनका दुई सिँचाइ आयोजना हिउँदमा पनि सञ्चालन गर्नुपर्ने बताएका छन्।

नारायणी खगेरी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय भरतपुरले आज बुधबार आयोजना गरेको छलफल कार्यक्रममा दाहालले नारायणी लिफ्ट र खगेरी सिँचाइलाई वर्षभरी नै सञ्चालन गर्नुपर्ने बताए ।

दुवै आयोजना अन्तर सम्बन्धित रहेकाले कृषि क्षेत्रमा बहुआयामिक प्रभाव रहेको भन्दै अध्यक्ष दाहालले हिउँद र वर्षा दुवै समय सञ्चालन गर्दा रोजगारीका साथै उत्पादन बढाउन सकिने कुरा पनि बताएका थिए ।

नारायणी लिफ्टको पम्प परिवर्तन गरी नयाँ ढाँचामा ल्याउनका लागि आफ्नोतर्फबाट आवश्यक पहल गर्ने उनले बताए। दुवै आयोजना महत्वपूर्ण रहेकाले सङ्घीय सरकार मातहत रहनुपर्ने दाहालको भनाइ रहेको छ ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, कृष्ण भुर्तेल, रामलाल महतो, खगेरी सिँचाइ उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर गुरुङ, नारायणी लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष पूर्णबहादुर रानाभाट, नारायणी खगेरी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय भरतपुरका प्रमुख खेमबहादुर पाठक लगायतले दुवै सिँचाइ आयोजनाका बारेमा प्रकाश पारेका थिए ।

खगेरी खोलाबाट नहर बनाइएको खगेरी सिँचाइ प्रणालीलले तीन हजार ९०० हेक्टर क्षेत्रफल सिञ्चित गर्दछ । नारायणी नदीबाट लिफ्टका माध्यमले पानी तानेर सिञ्चित गर्ने नारायणी लिफ्टले चार हजार ७०० हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको छ । दुवै आयोजनाको सिञ्चित क्षेत्र भरतपुर महानगर भित्र रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.