बारा, चैत्र २६ : मंगलबार बिहान फेरि हावाहुरी आएर प्रभावित क्षेत्रलाई थप समस्या पारेको छ । आज आएको हुरीले केही ठाउँमा बिजुलीका पोल फेरि ढलेका छन् । केही स्थानमा घरका छाना उडाए र बिचलित बनाएका छन् । साथै उक्त स्थानमा अहिले भारी वर्षा भइरहेको स्रोतले जानकारी दिए ।
गत १७ गते साँझ आएको हुरीबतासबाट प्रभावित भएकाहरु पाल टागेर बस्दै आएका थिए । त्यहीँ समस्यामाथि पुनः हावा पानी पर्दाखेरी पीडित अझ समस्यामा परेका छन् ।
अति प्रभावित क्षेत्र फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाइ नगरपालिकामा मंगलबारको हुरीले उनीहरुले प्रयोग गर्दै आएका पालहरु उडाएर फेरि त्रासिद बनाएको बुझिएको छ । मंगलबार बिहान पानी र असिनासँगैको हावाहुरी आएका कारण खाना पकाउन समेत नमिलेको बताइएको छ। साथै विभिन्न निकायहरुबाट आएका राहत वितरणको काम पनि अवरुद्ध भएको छ।