काठमाडौं, चैत १८ : आइतबार साँझ पानीसँगै आएको हावाहुरीले प्रभावित पारेको बारा र पर्सामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार हावाहुरीले प्रभावित जिल्लाका अस्पतालमा चिकित्सकको अभाव भएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको बताए ।
चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सक र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिएका छन् । उक्त चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले प्राथमिक उपचारका सामग्री र औषधिसमेत लैजाने प्रजिअ बस्नेतले बताए । त्यस्तै अन्य अस्पतालबाट पनि चिकित्सक पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
साथै हावाहुरीले प्रभावित जिल्लामा रगतको अभाव भएपछि चितवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । चितवनको भरतपुर चौविसकोठीमा आज (सोमबार) ११ बजे खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाका सामाजिक अभियानकर्मी, विभिन्न सङ्घसंस्था, क्लबलगायतले रक्तदान कार्यक्रमको आयोजना गरेको सहयोगी हात संस्थाका सञ्चालक तथा सामाजिक अभियानकर्मी सूर्य पौडेलले जानकारी दिए ।