हात्ती र बाँदरले दुःख दिएपछि सामूहिक पूजापाठ

रिपोर्ट नेपाल | 2019 Nov 27 | 10:24 am 1561

सप्तरी, मंसिर ११: अग्निसाइर कृष्णासवरन गाउँपालिकामा हात्ती र बाँदरले दुःख दिन थालेपछि अग्निसाइर मन्दिरमा स्थानीयवासीले सामूहिक पूजापाठ गरेका छन् । स्थानीयवासीले हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाइ सामूहिक पूजा गरेका हुन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै ज्यानसमेत जोखिममा पर्न थालेपछि गाउँलेले शान्तिको कामना गर्दै हात्ती र बाँदरको मूर्ति बनाई पूजापाठ गरेका हुन् ।

जङ्गली हात्ती गाउँ पसेर किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेकाले पूजा गरेको स्थानीयवासी श्यामकुमार चौधरीले बताए । जङ्गली जनावरबाट असुरक्षित भएकोबारे स्थानीय सरकार, वन कार्यालय, कोशी टप्पु आरक्ष, जिल्ला प्रशासनलगायलाई जानकारी गराउँदा सुनुवाइ नभएको स्थानीयवासी सूर्यमान तामाङ बताउँछन् ।

गाउँमा दैवी प्रकोप र बिपत्ति आएमा अग्निसाइर मन्दिरको पूजा गरे शान्ति हुने धार्मिक विश्वास छ ।

स्थानीयवासीले चन्दा सङ्कलन गरेर सामूहिक पूजा गरेका हुन् । अग्निसाइर कृष्णासवरन–२ का खड्गबहादुर तामाङले भने । हामीले हात्ती धपाउन हरेक उपाय गर्‍यौँ, सम्बन्धित निकायमा पटक–पटक आग्रह पनि गर्‍यौँ, कसैले चासो नदिएपछि सामूहिक पूजा गर्न बाध्य भएका हौँ ।

अग्निसाइर देउता रिसाएका कारण जनावरले गाउँलेलाई सताएको उनीहरुको बुझाइ छ । पछिल्लो समय जङ्गली हात्ती, बाँदर र बँदेलले आतङ्क मच्चाउन थालेपछि खेतीयोग्य जग्गा बाँझै रहने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.