हरियो तरकारीमा विषादीको मात्रा बढी

| 2020 Feb 07 | 07:45 am 1514

काठमाडौं, माघ २४: पछिल्लो समय हरियो तरकारीमा विषादी बढ्दै गएको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारस्थित विषादी प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टअनुसार हरियो तरकारी सिमी, काउली र गोलभेंडामा अत्यधिक विषादीको अवशेष पाइएको छ ।

विगतको तुलनामा चालू आर्थिक वर्षमा कालीमाटी बजारमा भित्रिने हरियो तरकारीमा विषादीको मात्रा बढेको पाइएको छ । आर्थिक वर्ष २०७४र७५ मा १ हजार ८ सय ५० नमुनामा विषादी चेकजाँच गर्दा तीनवटा नमुनामा मात्र विषादी पाइएको थियो ।

यसैगरी, आव २०७५र७६ मा ३ हजार १ सय २४ वटा नमुनामा दुईवटामा विषादि पाइएको थियो ।

त्यस्तै, चालू आव २०७६र७७ को २० माघसम्ममा १ हजार ४ सय २ वटा नमुनामध्ये १२ वटामा अत्यधिक विषादी पाइएको छ ।

केन्द्रका नायब प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार सर्लाहीबाट आउने हरियो सिमी र गोलभेंडामा सबैभन्दा धेरै विषादी पाइएको छ ।

यसैगरी, चितवनबाट ल्याइएको काउलीमा पनि धेरै विषादी पाइएको छ । शर्माले भने, चालू आवमा विषादी प्रयोगशालामा १४ सय २ नमुना जाँच गर्दा १२ वटामा खान नमिल्ने (रातो) देखाएको थियो भने तीनवटा नमुना केही दिन पर्खेर खानु मिल्ने (पहेंलो) देखाएको थियो ।

१३ सय ८७ नमुना भने खान मिल्ने पाइएको थियो । शर्माले काउली र गोलभेंडामा एकपटक पाइएको भनेपछि सिमीमा पटक–पटक विषादी अत्यधिक पाइएको बताए ।

शर्माका अनुसार हरियो तरकारीमा विषादीको मात्रा ३५ प्रतिशत हुँदा खान मिल्ने, ३५ देखि ४५ प्रतिशत हुँदा केही दिन पर्खनु पर्ने र ४५ प्रतिशतभन्दा बढी हुँदा खान मिल्दैन ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका निमित्त प्रमुख सहदेव प्रसाद हुमागाईंले पछिल्लो समय जलवायु परिर्वतनका कारण विभिन्न कीरा भित्रिएकाले व्यवसायीले कडा विषादी प्रयोग गर्न थालेको बताए ।

निमित्त प्रमुख हुमागाईंका अनुसार बजारमा आउने तरकारी विषादीका मात्र बढ्नुको मुख्य करण किसानमा जनचेतनाको कमी हो । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.