हनुमन्ते सफाइ ३६ औँ हप्तामा आठ टन फोहर सङ्कलन

रिपोर्ट नेपाल | 2018 Nov 03 | 12:57 pm 1779

भक्तपुर, कात्तिक १७ : भक्तपुरको हनुमन्ते नदी सफाइ अभियान आजको यो शनिबार ३६ औँ हप्तामा आठ टन फोहर संकलन भएको छ ।

आजको सफाइ अभियान सूर्यविनायक नगरपालिकाको अगुवाइमा भएको हो । सफाइ अभियानको क्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतको प्रमुख आतिथ्यतामा बिहान ९ बजेसम्म मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको बालकोट जोड्ने फलामे पुल क्षेत्र र खोलामा सरसफाइ गरिएको थियो ।

सफाइ अभियानमा प्रतिनिधिसभा सांसद महेश बस्नेत, प्रदेशसभा सांसद शशीजंग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीलगायत जिल्लाका विभिन्न संघसंस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सहभागिता रहेको थियो ।

२०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजको शनिबार ३ सय ७५ जनाको सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिँदै अहिलेसम्म ३ सय १० टन फोहर संकलन भएको बताए ।

उक्त अभियानका क्रममा सांसद बस्नेत, समितिका अध्यक्ष, प्रदेशसभा सांसद शशीजङ्ग थापालगायतले निरन्तर सफाइ अभियानले हनुमन्ते नदीमा सुधार आएको बताउँदै फोहर मुक्त हनुमन्ते नदी बनाउन सबै लाग्नुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.