भक्तपुर, साउन १२ : हनुमन्ते नदी सफाइ अभियानमा अरनिको राजमार्ग अन्तर्गत चारदोबाटो चोकदेखि गठ्ठाघरसम्मको सरसफाइ गर्दा १० टन फोहोर संकलन गरिएको छ ।
अभियानमा सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश बस्नेतको सहभागीतामा भएको हनुमन्ते सफाइ शनिबार जथाभावी फालिएको १० टन फोहर संकलन गरिएको सफाइ अभियन्ता अर्जुन श्रेष्ठले जानकारी दिए।
सफाइ अभियानमा नेपाल चलचित्र कलाकार संघकी वरिष्ठ उपाध्यक्ष एवं अभिनेत्री लक्ष्मी गिरीको आतिथ्यमा भएको सफाइ अभियानमा चार सयभन्दा बढी अभियान्ताको सहभागिता रहेको थियो ।
अभियानमा प्रतिनिधिसभा सदस्य बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि र सुरक्षाकर्मीहरु सफाइ अभियानमा सहभागि थिए ।
प्रतिनिधिसभा सदस्य बस्नेतले खोला मिच्ने प्रबृत्तिले हनुमन्ते साघुँरीएर बाढी बस्तीमा आएको बताउँदै विगतमा पदको दुरुपयोग गरेर हनुमन्ते खोलाको जग्गालाई व्यक्तिको नाममा गरिएकाको जग्गा फिर्ता गराइने बताएका छन् ।
उनले हनुमन्ते करिडोर निर्माणको लागि सरकारले ८१ करोड बजेट बिनियोजन गरेर काम शुरु गरेको बताउँदै करिडोर निर्माणपछि डुबानमा नपर्ने विश्वास व्यक्त गरे ।
फोहोर संकलनको क्रममा गठ्ठाघरमा भएको नागरिक अस्पतालले आफ्नो फोहर लुकाएर सडकको किनारामा फाल्ने गरेको भेटिएको छ । अस्पतालमा प्रयोग भएका सिरिञ्ज, अन्य सामानसमेत फालिएको पाइएपछि अस्पतालले लापर्वाही गरेको भन्दै अभियन्ताले आक्रोशीत भएका थिए । एक पटकलाई सचेत गराइएको र फेरि अस्पतालको फोहर सडकपेटीमा फालिए कडा कारबाहीको माग गरिने अभियन्ताले बताएका छन् ।