हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने देउवाकाे अठाेट

रिपोर्ट नेपाल | 2018 Jun 07 | 01:53 pm 1221

भक्तपुर, जेठ २४: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका समयमा हत्या जस्तो अमानविय कार्यमा संलग्नहरुलाई छाड्न नहुने कुरामा जोड दिएका छन् । सभापति देउवाले उक्त कुरा बिहीबार सहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा बताएका हुन् । उनले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने कुरामा जोड दिएका थिए ।
पूर्वप्रधानमन्त्री देउवाले भने, ‘प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहनुभएका जोन्छेंमाथि द्वन्द्वका नाममा उहाँकै घरमा गएर गोली प्रहार गर्नु ठूलो अपराध हो, यस्ता अपराधीलाई कहिल्यै कसैले पनि छुट दिनुहुँदैन ।’
सभापति देउवाले सहिद जोन्छेंले छाडेर गएको काम सफल पार्नु र उनले अवलम्बन गरेको बाटो पछ्याउनु आजको आवश्यकता रहेको बताउदै‌ जस्ले उहाँको हत्या गर्यो ति आततायिलार्इ कानुनको दायरामा ल्याउन सकियो भने मात्रै जोन्छेंमाथि सच्चा श्रद्धाञ्जलि हुने बताए ।प्रतिष्ठानका अध्यक्ष रजनि जोन्छेको सभापित्वमा सम्पन्न कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेपाली कांग्रेसभित्रको गुटउपगुटको अन्त्य गरी एकढिक्का बनाएर लैजाने जिम्मेवारी पार्टी सभापति देउवाको भएको बताए ।
पार्टी जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सहिद जोन्छेंले प्रजातन्त्र स्थापनमा पुर्‍याएको योगदानको चर्चा गरे । नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेस कुनै पनि परिस्थितिको सामना गर्दै अगाडि बढ्ने र देशका लागि जस्तोसुकै मूल्य चुनाउन तयार रहको बताएका थिए ।
कानून आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका अध्यक्ष एवं प्रदेश नं ३ का प्रदेश सदस्य रजनी जोन्छेंलगायतले सहिद जोन्छेंको योगदानलाई पार्टी र देशले बिर्सन नहुने कुरामा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.