स्व. मंगलादेवी सिंहको योगदानको स्मरण

| 2018 Aug 26 | 12:51 pm 1582

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व. मङ्गलादेवी सिंहको २२औँ स्मृति दिवसमा उनले नेपालको प्रजातन्त्र स्थापनाका लागि गर्नु भएको योगदानको स्मरण गरिएको छ । नेपाल महिला सङ्घ काठमाडौं शाखाको आयोजनामा आज बिहान मङ्गलादेवीको शालिक रहेको स्थान शोभा भगवतीमा एक कार्यक्रमको आयोजना गरी उनको शालिकमा माल्यापर्ण गर्दै श्रद्धान्जलि अर्पण गरिएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकारका लागि सधै आवाज उठाउने नेतृ मङ्गलादेवीले एकतन्त्रीय राणा शासन फाल्ने देखि प्रजातान्त्रिक आन्दोलनमासमेत महत्वपूर्ण योगदान गरेको चर्चा गरे । दुईतिहाईको सरकारले जनताको समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै नेता सिंहले संविधानले महिलाहरुलाई धेरै अधिकार दिएको भन्दै अधिकार सुनिश्चित गर्नका लागि महिलाहरु लड्नुपर्ने बेला आएको पनि बताए।

कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौंका सभापति सबुज (कृष्ण) बानियाँले महिलाको हक अधिकारका लागि मात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मङ्गलादेवी सिंहको ठूलो भूमिका रहेको बताए ।

यस्तै, नेपाल महिला सङ्घ काठमाडौंका अध्यक्ष विष्णुदेवी पुडासैनीले महिला सङ्घ मङ्गलादेवी सिंहले देखाएको बाटोमा हिँड्नुपर्ने विचार व्यक्त गरे ।

महिलाका हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिलाहरु भेला भई महिला सङ्घको स्थापना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.