स्वास्थ्य मन्त्रालय यसरी बन्दैछ सुर्तीनिषेधित क्षेत्र

रिपोर्ट नेपाल | 2018 Jun 11 | 06:18 pm 1287

तपाईं सुर्तीजन्य सामग्री साथमा लिई स्वास्थ्य मन्त्रालय जाँदै त हुनुहुन्न ? यदि यस्तो आदत छ भने यो बानी तत्काल त्याग्नुहोस् । अन्यथा मन्त्रालयका सुरक्षाकर्मीका सामु लज्जित बन्नुपर्ला ।

स्वास्थ्य मन्त्रालयमा खटिएका सुरक्षाकर्मीले कर्मचारी तथा मन्त्रालयमा सेवा लिन आउने सर्वसाधरणको शरीर खानतलासी गर्दा ७ सय ५३ थान सुर्तीजन्य पदार्थ जफत गरेका छन् । स्वास्थ्यका लागि अत्यन्त हानीकारक यस्ता सामग्री बरामद गर्ने क्रम जारी नै छ ।

गत चैत ९ गतेदेखि मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउने उद्देश्यले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको निर्देशनमा सुर्तीजन्य पदार्थ लिएर मन्त्रालय प्रवेशमा रोक लगाइएको थियो। प्रवेश रोक लगाइएसँगै प्रहरीले मन्त्रालयका कर्मचारी र सेवाग्राहीको शरीर खानतलासी गरी सुर्तिजन्य पदार्थ बरामद गर्न थालेको थियो। हालसम्म सुर्ती, चुरोट र गुठ्खा गरी उल्लेखित परिमाणमा सामग्री जफत गरिएको मन्त्रालयले सार्वजनिक गरेको हो ।

बरामद भएका सुर्तीजन्य पदार्थहरुमध्ये ४ सय ४० जनाबाट सोही संख्यामा सुर्तीको प्याकेट, ४४ जनाबाट ४४ प्याकेट चुरोट र १ सय ९६ प्याकेट गुट्खा बरामद गरिएको मन्त्रालयस्रोतले जनाएको छ । मन्त्रालयमा आउने सेवाग्राही र कर्मचारीको चेकजाँचमा कडाइ गर्न थालिएसँगै पछिल्ला दिनमा सुर्तीजन्य पदार्थ बोकेर मन्त्रालय आउनेको संख्या कम हुँदै गएको पनि बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.