काठमाडौँ, फागुन १३ : उपप्रधान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव भारतस्थित नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’सम्बन्धी चौथो सम्मेलनमा सहभागी हुन लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा अपनाइएका विभिन्न सूचना प्रविधिका विषयमा छलफल गर्ने गरी आयोजित उक्त सम्मेलनमा नेपालसहित विश्वका ६० देशका स्वास्थ्यमन्त्रीहरु, स्वास्थ्य क्षेत्रका नीति निर्माता र विज्ञहरुको सहभागिता रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
तीन दिने सम्मेलनमा पहिलो र दोस्रो दिन सहभागी विभिन्न देशले स्वास्थ्य सेवा प्रदान गर्न अपनाएका नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मूल्याङ्कन, साइबर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो विकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिकाबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।