काठमाडौं जेठ १४ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ‘नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने जो कोही भएपनि तत्काल छानविन गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
सभापति देउवाले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर नर्समाथि विहीबार भएको आक्रमण निन्दनीय कार्यरहेको बताउँदै तत्काल छानविन गरी कडा कारबाहीको माग गरेका हुन् । यस्तो विषम परिस्थितिमा आफ्नो ज्यानको प्रभाह नगरी अहोरात्र खटेका अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निन्दनीय र भ्रत्र्सनायोग्य कार्य भएको सभापति देउवाले आफ्नो निजि ट्विटमार्फत् उल्लेख गरेका छन् ।

यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न देउवाले माग गर्दछु भनि उल्लेख गरेका छन् ।
बिहीबार बाँकेको भेरी अस्पतालमा दाङका एक कोरोना संक्रमितको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आइसीयु कक्षमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण गरेपछि सभापित देउवाले स्वास्थ्यकर्मीमाथि हातपात गर्नु जघन्य अपराध रहेको भन्दै आपत्ति जनाएका हुन् ।