वीपी स्वतन्त्र न्यायपालिकाका पक्षपाती रहेको रेग्मीको भनाई

| 2018 Sep 09 | 05:43 pm 2586

काठमाडौं, भदौ २४ : नेपाल सरकारका पूर्व मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले वीपी कोइराला राजनीतिज्ञमात्र नभएर दार्शनीक समेत रहेको बताएका छन् ।

वीपी चिन्तन प्रतिष्ठानद्वारा आइतबार राजधानीमा आयोजित आजको सन्दर्भमा वीपी विचार विषयक गोष्ठीमा बोल्दै पूर्व अध्यक्ष रेग्मीले वीपीले सधै जनतालाई केन्द्रबिन्दुमा राखेर नीति बनाउने गरेको बताए । मुलुकमा स्वतन्त्र न्यायपालिकाको व्यवस्थापन गर्ने देखि भूमि व्यवस्था अन्तर्गत विर्ता उन्मुलन गर्ने काम समेत वीपीले गरेको रेग्मीको भनाई रहेको थियो । राजनीतिमा समाजवादी र साहित्यमा स्वतन्त्रवादी वीपीको विचार आज पनि सान्दर्भिक भएको रेग्मीको भनाई रहेको थियो ।

गोष्ठीमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले नेपाली कांग्रेसले वीपीको विचार छाडेका कारण लज्जास्पद पराजय भोग्नुपरेको बताइन । वीपीको विचार बोकेर कम्युनिष्टले जित्दै जाँदा कांग्रेस पराजय हुनुमा नेतृत्व दुरदर्शि नभएको कोइरालाको आरोप थियो । वीपी कोइरालाको मेलमिलापको नीतिलाई अपव्याख्या गरिएको बताउदै नेता कोइरालाले वीपीले त्यस बेला मेलमिलापको नीति ल्याएर राष्ट्रियताको संरक्षण गरेको बताइन ।

नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सिपी मैनालीले पछिल्लो समय नेपालको राजनीतिमा बेइमानहरु हावी भएको बताए । नेता मैनालीले वीपी कोइरालाले अगिंकार गरेको प्रजातान्त्रिक समाजवाद अहिलेको अवस्थामा समेत उत्कृष्ठ रहेको बताएका थिए । वीपी कोइराला समाजवादी चिन्तक र सफल साहित्यकार भएको नेता सिपीको भनाई रहेको थियो ।

नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले नेपालको राजनीतिमा वीपी कोइरालाको योगदान स्मरण गर्ने लायकको रहेको बताए । वीपी विचारका चिन्तक जति थिए लेखपढमा पनि त्यतिकै सक्षम भएको पन्तको भनाई रहेको थियो । अहिले कांग्रेसका नेताहरुमा वैचारिक खडेरी परेको भन्दै विचार प्रवाह गर्नका लागि लेखपढ आवश्यक हुने उनको भनाई रहेको थियो ।  नेता पन्तले वीपी कोइरालालाई अध्ययन गर्नेले उहाँ सच्चा राष्ट्रवादी भएको भेट्टउने नेता पन्तको भनाई रहेको थियो ।

वीपी चिन्तन प्रतिष्ठानका कार्यवाहक अध्यक्ष रामकृष्ण आमत्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस (वीपी)का सभापति हरीबोल भट्टराईले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टीले वीपीको विचार त्यागेका कारण आफूहरुले त्यो विचार जिवीत राख्न पार्टी गठन गरेको बताए ।

वर्षको एक दिन सेमिनार गोष्ठी गर्दैमा वीपीको विचार जिवीत नरहेने भन्दै सभापति भट्टराईले नेपालको राजनीति सत्ता र सम्पत्तीमुखी भएको बताएका थिए । कार्यक्रमबारे प्रतिष्ठानका महासचिव प्रदीप कोइराला र स्वागत मन्तव्य कार्यक्रम संयोजक जुना घिमिरेले गरेकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.