सप्तरी, माघ ५ः राजबिराज नगरपालिका ५ स्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ९० हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा डाक्नेश्वरी नगरपालिका ५ बस्ने ३० वर्षीय राजेश चौधरी र शम्भुनाथ नगरपालिका १२ बस्ने २४ वर्षीय दिलिप मण्डल रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २(०१(००३ प ३४७८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक राजेश र मोटरसाइकलमा सवार दिलिपलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
धनुषा, बटेश्वर गाउँपालिका ४ राम्रोचोकबाट महोत्तरी भंगाहा नगरपालिका ७ गोराना बस्ने अमित कुमार पासवानको साथबाट ४५ हजार भारतीय रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बटेश्वर गाउँपालिका ४ बस्ने २७ वर्षीय जिवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कम्लेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेश रवि दास रहेका छन् । जिवन लगायत ४ ५ जना व्यक्तिहरुले भारतबाट काम गरी घरतर्फ जाँदै गरेका अमित कुमारको साथबाट उक्त धनमाल लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बटेश्वरबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।