काठमाडौं, जेठ ३१ : सूचना प्रविधि प्रयोगको उच्चतम अभ्यासमा जुटिरहेको नेपाली समाजलाई थप सशक्त र अभ्यस्त बनाउने अभियानमा होमिएको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन–०१८ आयोजना गर्ने भएको छ ।
क्यान महासंघले यसअघिका सत्रौं संस्करणसम्म आईसीटी कन्फ्रेन्सलाई क्यान इन्फोटेकको एक भागका रुपमा अघि बढाइ रहेकोमा यस वर्षदेखि विशेष प्राथमिकतासाथ अन्तर्राष्ट्रिय विज्ञ–विशेषज्ञ समेतको उपस्थितिमा छुट्टै कार्यक्रमको रुपमा आयोजना गर्न लागेको हो ।
स्मार्ट समाजका लागि दिगो विकास लक्ष्य नारा दिइएको आईसीटी कन्फ्रेन्समा अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकासका लक्ष्यमा सूचना प्रविधिको प्रयोगलागि सरकारकातर्फबाट अहिलेसम्म भइरहेका प्रयास र सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लिखित सूचना प्रविधिको प्रयोग र विस्तारसम्बन्धी विषयहरु कार्यान्वयन गर्नका लागि आगामी दिनमा चाल्ने कदमसहितको विस्तृत जानकारी दिनेछन् ।
ललितपुरको होटल हिमालयमा आयोजना हुने सम्मेलनमा सूचना प्रविधिको उपयोग र विस्तारलाई विशेष महत्व दिएको सरकारका योजनामा आईसीटी कन्फ्रेन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले बिश्वास लिएको छ ।