काठमाडौँ ३२ असार / नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्पेन भ्रमण गएर नफर्किएकाहरू बारे सरकारले अनुसन्धान गरिरहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचीभन्दा बाहिर रहेर गएका तर नफर्किएकाहरूको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका हुन् ।
प्रवक्ता गुरुङले नैतिकताको कुरा उठिसकेपछि सामान्य प्रशासनमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने बताए। उनले भ्रष्टाचारका विषयमा सरकारले आँखा चिम्लिएर नबस्ने धारणा राखे।
प्रवक्ता गुरुङले नागढंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मालाई नियुक्त गरेको छ भने फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय समेत भएको प्रवक्ता गुरुङले जानकारी दिए।
मन्त्रीपरिषद्ले नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र १९ जना सहायक सेनानीहरूको सरुवा गर्ने निर्णय समेत गरेको छ।