स्नातक तहको पढाइ सुरु नै भएन

| 2023 Dec 04 | 08:50 am 665

 

काठमाडौँ, मंसिर १८ — कक्षा १२ को नतिजा सार्वजनिक भएको साढे ३ महिना भइसक्दासम्म विश्वविद्यालयहरूले स्नातक तहको कक्षा सञ्चालन गर्न सकेका छैनन् । साउन ३० मा सार्वजनिक नतिजामा १ लाख ८९ हजार विद्यार्थी स्नातक तहमा भर्ना हुन योग्य ठहरिएका थिए ।

त्यसयता दसैं, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्व सकिएको पनि दुई साता बितिसक्यो तर स्नातक पहिलो वर्षको पढाइ सुरु हुने सुरुसार छैन । वैशाखमा कक्षा १२ को परीक्षा दिएका विद्यार्थी ६ महिनादेखि फुर्सदिला छन् ।

विश्वविद्यालय अनुदान आयोगले मंसिर पहिलो सातादेखि स्नातक तहको कक्षा सञ्चालन गर्ने गरी उच्च शिक्षामा शैक्षिक क्यालेन्डर लागू गरेको छ । विश्वविद्यालयहरू भने विद्यार्थी भर्नामै रुमलिएका छन् । यो अवधिमा साढे ३८ हजार विद्यार्थी पढ्ने अनुमतिपत्र लिएर विदेश उडिसकेका छन् । करिब २० हजार विद्यार्थी भर्ना भएका विदेशी विश्वविद्यालयबाट सञ्चालित क्याम्पसमा भने पठनपाठन गरेर पहिलो सेमेस्टर पूरा गर्ने तरखरमा छन् । त्रिभुवन, काठमाडौं, पोखरा, पूर्वाञ्चललगायत प्रायः विश्वविद्यालयका संकाय र क्याम्पसहरू भने विद्यार्थी भर्ना प्रक्रियामै देखिन्छन् ।

त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति शिवलाल भुसालले मंसिर १ देखि नै स्नातक तहको नयाँ शैक्षिक सत्र सुरु भइसकेको बताए । ‘डिन कार्यालयले प्रवेश परीक्षा सके, भर्ना प्रक्रियामा छन्,’ उनले भने, ‘विद्यार्थी नै भर्ना हुन ढिला आउँछन् । बानी बिग्रिएको छ । बिस्तारै सुधार हुँदै छ ।’

प्राविधिकतर्फका विषय र संकायमा सिट पूरा भए पनि अन्यमा विद्यार्थी कमी भएकाले पुनः प्रवेश परीक्षा सञ्चालन गर्दा पनि पढाइमा ढिलाइ भएको उनको भनाइ छ । शैक्षिक क्यालेन्डरमा असर नपुगोस् भनेर विश्वविद्यालयले मंसिर १ बाटै कक्षा सञ्चालन गर्न निर्देशन दिएको भुसालले जनाए ।

‘कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीलाई समेत यही शैक्षिक सत्रमा भर्ना लिनुपर्ने भएकाले सबैतिर कक्षा सुरु हुन नसकेको हो,’ उनले भने, ‘शैक्षिक क्यालेन्डर बिग्रन्छ भनेर पढाइचाहिँ सुरु गरिहाल्न भनेका छौं ।’ सिट संख्याअनुसार विद्यार्थी भर्ना भए तोकिएकै समयमा कक्षा सञ्चालन गर्न सकिने उनले जनाए । ‘भर्ना हुने विद्यार्थी नै समयमा नआउँदा ढिला हुन पुगेको हो । ढिला गर्ने बानी परेको छ । बिस्तारै सुधार गर्नुपर्छ,’ उनले भने ।

राष्ट्रिय परीक्षा बोर्डले कात्तिक २३ गते ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । त्यसमा सहभागी १ लाख १७ हजार विद्यार्थीमध्ये ८८ हजार ९ सयले ग्रेड प्राप्त गरेर उच्च शिक्षामा भर्ना हुन योग्य भएका छन् । असोज ९ र १० गते ग्रेडवृद्धि परीक्षा सञ्चालन भएको थियो । चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेर विद्यार्थी म्याचिङ प्रक्रियामा रहेकाले मेडिकलतर्फ कुनै पनि क्याम्पसमा पठनपाठन सञ्चालन हुन सकेको छैन ।

इन्जिनिरिङ अध्ययन संस्थानमा ढिला गरी भएको प्रवेश परीक्षापछि विद्यार्थी भर्ना प्रक्रियामा छन् । काठमाडौं, पोखरा र पूर्वाञ्चलले इन्जिनियरिङमा कक्षा सञ्चालनको घोषणा गरे पनि सिट पूरा नहुँदा भर्ना प्रक्रिया पनि यथावत् राखेका छन् । धेरै विद्यार्थी भर्ना हुने व्यवस्थापन संकायमा सिट खाली रहँदा त्रिवि डिन कार्यालयले पुनः सिम्याट परीक्षाको आवेदन संकलन थालेको छ । अन्य विश्वविद्यालयले पनि सिट संख्या पूरा नभएको भन्दै पठनपाठनलाई गति दिन सकेका छैनन् । मानविकी, विज्ञान प्रविधि, शिक्षा, कानुन संकायमा पनि भर्ना प्रक्रिया सकिएको छैन ।

पोखरा विश्वविद्यालयका निमित्त उपकुलपति राजेश ठकुराठीले विद्यार्थी भर्नामा विलम्ब हुँदा मंसिर पहिलो सातादेखि कक्षा चलाउन नसकिएको बताए । उनले भने, ‘विद्यार्थी भर्नाको अन्तिम चरणमा छौं, एक सातामा पढाइ सुरु हुन्छ ।’ आंगिक कलेजमा शतप्रतिशत सिट भरिए पनि सम्बन्धन प्राप्त क्याम्पसका सिट अझै पनि खाली रहेको उनले गुनासो गरे । ‘राम्रा निजी क्याम्पसमा ७० र मध्यम कलेजमा ५० प्रतिशत सिटमा मात्र विद्यार्थी भर्ना भएका छन्,’ ठकुराठीले भने, ‘विद्यार्थी भर्नामा ढिला हुँदा नै कक्षा सुचारु गर्न नसकिएको हो ।’ त्रिविको इन्ट्रान्स परीक्षा ढिला भएकाले त्यसको प्रभाव पोखरा विश्वविद्यालयका क्याम्पसमा पनि परेको उनले गुनासो गरे । ‘इन्जिनियरिङलगायतका कतिपय विषयमा विद्यार्थी सकभर त्रिविमा नै भर्ना हुन खोज्दा रहेछन्, त्यसले पनि हाम्रोमा ढिलासुस्ती हुन पुग्यो,’ उनले भने ।

त्रिविमा उच्च शिक्षामा ७५, पूर्वाञ्चलमा ७ र पोखरामा ६ प्रतिशत विद्यार्थी भर्ना हुने विश्वविद्यालय अनुदान आयोगको तथ्यांक छ । २ लाख ४२ हजार छात्रासहित ४ लाख ६० विद्यार्थी उच्च शिक्षामा अध्ययनरत छन् । ११ विश्वविद्यालय, ४ स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक प्रादेशिक विश्वविद्यालयले गत आर्थिक वर्षदेखि शैक्षिक कार्यक्रम अघि बढाएका छन् ।

विश्वविद्यालयपिच्छे स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहको भर्ना, कक्षा सञ्चालन, परीक्षा, नतिजा सार्वजनिकलगायत शैक्षिक कार्यक्रम फरक–फरक भएर उच्च शिक्षामा भद्रगोल र मनोमानी बढेपछि आयोगले गत भदौदेखि एकीकृत शैक्षिक क्यालेन्डर लागू गरेको छ । क्यालेन्डर कार्यान्वयन अवस्थाका आधारमा अनुदान वितरण गर्ने तयारी छ । शैक्षिक क्यालेन्डरको अनुगमन, मूल्यांकन कार्य गर्न आयोगले विश्वविद्यालय तथा प्रतिष्ठानका पूर्वउपकुलपतिहरू संलग्न रहेको उच्चस्तरीय समिति गठन गर्ने उल्लेख छ ।

क्यालेन्डर लागू गरेपछि यसपालि विश्वविद्यालयहरूले कक्षा १२ को नतिजा सार्वजनिक हुनुअघिदेखि नै भर्ना कार्यक्रम अघि बढाएका थिए । तर समयमै भर्ना कार्यक्रम सम्पन्न गरेर कक्षा सञ्चालन अघि बढाउन नसकिएको विश्वविद्यालयका पदाधिकारी स्वीकार गर्छन् । क्यालेन्डरमा क्याम्पसहरूले असोजभित्र विद्यार्थी प्रवेश परीक्षा र भर्ना सक्नुपर्ने उल्लेख छ । कात्तिकमा रजिस्ट्रेसन दर्ता गराएर मंसिर पहिलो साताबाट पठनपाठन थाल्ने योजना थियो ।

(कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.